पुराना–नयाँ दलको नारा जनतालाई भ्रमित पार्ने भुलभुलैया हो : विप्लव

लोकपथ
119
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन् ।

शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो समय राजनीतिक वृत्तमा चलाइएको नयाँ र पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास भएको दाबी गरे । उनले नेपालमा समस्या दलको नभई जनताको सेवा गर्ने, जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला लिने राज्यसत्ताको रहेको बताए ।

महासचिव चन्दले सत्ताको मूल बहस ओझेलमा पारेर बाहिर फैलाइएको नयाँ–पुराना दलको हल्लाखल्ला पूर्ण रूपमा सत्य नभएको उल्लेख गरे । पुराना दलबाट भ्रष्टाचार र विकृति जन्मिएको कुरा एक हदसम्म सही भए पनि नयाँ दल आएपछि मात्रै स्वतः अवस्था सुध्रिन्छ भन्ने धारणा गलत भएको उनको भनाइ छ ।

उनले भने, ‘नयाँ दलप्रति जनतामा देखिएको आशा पुराना दलको असफलताबाट जन्मिएको हो । तर पुरानो राज्यसत्ता जस्ताको तस्तै रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान हुँदैन। मुख्य संघर्ष पुराना र नयाँ दलबिच होइन, पुरानो सत्ता र जनताको बिचको हो ।’

महासचिव चन्दले नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नभएको बताए । उमेरका आधारमा नयाँ अनुहार आएपछि सबै ठिक हुन्छ र पुरानो मान्छेले राम्रो गर्न सक्दैन भन्ने सोच गलत भएको उनको धारणा छ। उनले उमेरभन्दा पनि दृष्टिकोण निर्णायक हुने उल्लेख गर्दै भने, ‘मान्छे उमेरले पुरानो हुन सक्छ, तर उसले बोकेको दृष्टिकोण के हो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो।’

उनले पुराना नेता र नयाँ नेताको बहसलाई पनि जनतालाई अलमलमा पार्ने ‘गुलियो पोतिएको नारा’को संज्ञा दिए । पुरानो सत्ता संरचना र चरित्र बदल्न सक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याउँदै उनले नयाँ भनिने दल र नेताबाट समेत त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गरे ।

महासचिव चन्दले पुरानो सत्तालाई परिवर्तन गरी जनताको सत्ता निर्माण गर्न सक्ने शक्ति नेकपा माओवादी मात्रै भएको दाबी गर्दै जनतालाई यो विषय स्पष्ट रूपमा बुझाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?