काठमाडौं । सशस्त्र प्रहरी बलको १२ वटा तालिम शिक्षालयमध्ये चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट बन्दा मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालय भने उत्तम श्रेणीभित्रै पर्न असफल भएको पाइएको छ ।
स्रोतका अनुसार, कुरिनटार उत्कृष्ट र अन्य १० वटा शिक्षालय उत्तमको सूचीमा पर्दा मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालय भने ‘सन्तोषजनक’ मा परेको छ ।
उद्धार तालिम शिक्षालयको समादेशकमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) टोपबहादुर डाँगी छन् । उनी सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकको पहिलो नम्बरको एसपी हुन् । सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका उनले आफूलाई अब्बल अधिकृत भएको दाबी गर्दै आएको भएपनि उनको क्षमता पर्वतीय उद्धार तालिम शिक्षालयमा गरेको कामले उजागर गरेको छ ।

यस्तै, यो वर्ष नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देही सर्वोत्कृष्ट भएको छ । सशस्त्र प्रहरीमा ८ वटा बाहिनी रहेकोमा सो बाहिनी प्रथम भएको हो । सो बाहिनीको बाहिनीपतिमा डीआईजी दीपेन्द्र कुँवर छन् । सशस्त्र प्रहरी दिवसको अवसरमा माघ ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।

यस्तै, कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको समादेशकमा अहिले एसएसपी भरत खनिया छन् । सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसएसपी खनियालाई सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट शिक्षालय अवार्ड प्रदान गर्दैछन् ।

यस्तै, यो वर्ष ४५ वटा गणहरूमध्ये नम्बर १२ गण बारा सर्वोत्कृष्ट बनेको छ । यस्तै, गुल्महरूमध्येबाट नुवाकोटस्थित गुल्म सर्वोत्कृष्ट बनेको छ ।
सशस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष उत्कृष्ट युनिटहरूको छनौट गर्ने गर्छ । यो वर्ष सशस्त्र प्रहरीले माघ ९ गते रजत महोत्सव मनाउँदै छ । २०५७ साल माघ ९ गते प्रथम अध्यादेश जारी भएसँगै सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया