काठमाडौं । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि मन्त्री चौलागाईंले कर्णाली राजमार्गको सडक सुरक्षा तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंक एडीबीसँग अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, जुम्ला र कालीकोटको सिमानामा पर्ने नाग्मस्थित हिमा नदीमा पक्की पुल निर्माण सम्पन्न भइसकेको अवस्थामा त्यहाँ रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा स्थानान्तरण गरी तातोपानी गाउँपालिका–४ हाँकुसँग जोड्ने निर्णय पनि गरिएको छ ।
मन्त्री चौलागाईंले निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा उल्लेखित ‘घ’ वर्गका निर्माण व्यवसायीको योग्यतासम्बन्धी मापदण्ड परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्न पाँच सदस्यीय समिति गठन गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन् । उक्त समितिको संयोजकत्व मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाललाई तोकिएको छ ।
यसअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले वनमन्त्री चौलागाईंलाई उक्त मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया