काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

लोकपथ
966
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । 

एमालेका काठमाडौं  जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए । 

अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताए । 

एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । 

एमाले काठमाडौंले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजना भन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नंं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ । 

निरौलाका अनुसार काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलले चाहेको खण्डमा उनलाई नै उम्मेदवार बनाउने र नचाहेको खण्डमा अन्यलाई पनि उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । 

उनले काठमाडौं क्षेत्र नं १ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठजना, काठमाडौं क्षेत्र नंं ३ मा रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना, क्षेत्र नं ४ मा सचिव डा.राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको बताए । 

त्यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता ईश्वर पोखरेलसहित आठजना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा.अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?