काठमाडौं । सुनचाँदी व्यवसायीहरुले नगद कारोबारमा ५ लाख रुपैयाँको सीमाका कारण सुनचाँदी व्यवसायमा नकारात्मक प्रभाव पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।
माघ १ देखि लागू हुने नगद कारोबारमा ५ लाखको सीमाले सुनचाँदी व्यवसायमा नकारात्मक प्रभाव पर्ने भन्दै काठमाडौं सुनचाँदी व्यवसायी संघले आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको ध्यानाकर्षण गराएको हो ।
सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रहेकाले ५ लाखको नगद कारोबार सीमाले व्यवसायलाई थप झन्झटिलो र जटिल बनाउने व्यवसायीहरुको ठहर छ ।
‘सरकारको कर प्रणालीलाई सुदृढीकरण गर्ने, पारदर्शिता अभिवृद्धि गर्ने र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यको हामी सम्मान गर्छौं,’ संघकी अध्यक्ष रोहिनादेवी शाक्यद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।
यसैगरी सुनचाँदीको खरिद–बिक्री कारोबार तत्काल हुनुपर्ने र सार्वजनिक बिदाको समयमा पनि हुनुपर्ने भएकाले चेक अनिवार्य गर्दा कारोबार सुरक्षित नहुने व्यवसायीहरुको तर्क छ ।
चेक कारोबारमा ब्यालेन्स नभएको र हस्ताक्षर नमिलेको अवस्थामा फिर्ता आउने समस्याका बीच ग्राहक सम्पर्कविहीन हुनसक्ने हुँदा चेक बाउन्स हुने जोखिम पनि उच्च रहेकोमा उनीहरुको चिन्ता छ ।
‘यसबाट व्यवसायीहरुले आर्थिक क्षति व्यहोर्नुपर्ने सम्भावना त छँदैछ, कानुनी झन्झटको सामना गर्नुपर्ने जोखिम पनि उत्तिकै छ,’ अध्यक्ष शाक्यले प्रश्न गरिन्, ‘अनि हामीले व्यवसाय गर्ने कि ग्राहकसँग कानुनी लडाइँ लडेर बस्ने ?
सुनचाँदीको मूल्य दैनिक रुपमा परिवर्तन हुने हुँदा चेक राफसाफमा हुने ढिलाइले मूल्य अन्तरका कारण व्यवसायीले थप क्षति व्यहोर्नुपर्नेतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै चेकमा हस्ताक्षर गर्न नजान्ने पाका उमेरका मानिसले सुन किन्नै नसक्ने अवस्था आउने पनि उनीहरुको बुझाइ छ ।
साना तथा मध्यम सुनचाँदी व्यवसायीका लागि बैंकिङ प्रक्रिया, चेक राफसाफ र अभिलेख प्रक्रिया थप झन्झटिलो र खर्चिलो हुने उनीहरुले भनाई छ । जसबाट लागत बढ्न गई व्यवसायबाटै पलायन हुने स्थिति आउनेतर्फ समेत उनीहरुले सरकारलाई सचेत गराएका छन् ।
ग्रामीण क्षेत्रमा बैंकका शाखा सहज पहुँचयोग्य स्थानमा नहुने भएकाले सुनचाँदी व्यवसाय थप संकटमा पर्न सक्ने उनीहरुको चिन्ता छ । ‘सरकारले ग्रामीण र विकट क्षेत्रका व्यवसायी र बैंकिङ पहुँचको अवस्था नबुझी यस्तो निर्णय लिएको पाइन्छ,’ अध्यक्ष शाक्यले भनिन्, ‘सरकारको नियम काठमाडौं र केही सहरउन्मुख क्षेत्रै लागू गर्न त सहज छैन, गाउँमा कसरी होला !’
यस्ता छन् व्यवसायीहरुले सरकार समक्ष राखेका मागहरु :
१. सुनचाँदी कारोबारका लागि छुट्टै किसिमको गुड फर पेमेन्ट चेक जारी गर्ने तथा गोएमएल र केवाईसी बैंकबाटै भर्ने । त्यसका लागि बैंकमा छुट्टै डेस्क स्थापन गर्ने ।
२. फोन पे अथवा क्यूआरबाट पेमेन्ट सिस्टम मिलाउने । बैंकसँगै ग्राहकको विवरण हुने भएकाले व्यवसायीले केवाईसी नै भर्न नपर्ने ।
३. सुनचाँदी तथा बहुमूल्य धातुको कारोबार गर्दा डिजिटल भुक्तानीको सीमा १० लाख बनाउनुपर्ने ।
४. मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी संहिता कार्यविधि २०७४ को परिच्छेद १ दफा २५४ ‘ख’ मा सुनचाँदी, जवाहरात, बहुमूल्य रत्न पत्थर र सुनचाँदीबाट बनेका गहनालाई तरल सम्पत्तिमा राखेकाले सोही अनुसार व्यवहार गर्नुपर्ने ।
मन्त्रिपरिषदको मंसिर १५ गतेको बैठकले नगद कारोबारको सीमा १० लाखबाट घटाएर ५ लाखमा झारेको थियो । औपचारिक कारोबारलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि नगद कारोबारको सीमा ५ लाखमा झारिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारको निर्णयआनुसार एकपटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया