रवि र बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच भएको सहमति राजनीतिमा कुनै अनौठो विषय नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले रास्वपा सभापति रवि लामिछाने र बालेन साहबीचको सहमति स्वाभाविक राजनीतिक प्रक्रिया भएको टिप्पणी गरे । राजनीतिमा जुट्ने र फुट्ने क्रम चलिरहने भएकाले यसलाई असामान्य रूपमा लिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

उनले भने, ‘राजनीतिमा को-को मिल्छन्, को-को जुट्छन् र को-को फुट्छन् भन्ने कुरा भइरहन्छ । त्यसमा कांग्रेसलाई विशेष चासोको विषय छैन। बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन ।’

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने स्पष्ट पार्दै यस क्षेत्रमा सधैं विभिन्न किसिमका चुनौती आउने बताए । ती सबै चुनौतीको सामना गर्दै आएको कांग्रेसले यस्ता घटनालाई गम्भीर रूपमा लिन नपर्ने उनको भनाइ छ ।

‘राजनीति भनेकै चुनौती हो । कांग्रेसले राणाकालीन चुनौतीदेखि पञ्चायती चुनौतीसम्म सामना गरेर आएको पार्टी हो । त्यसैले अहिले को-को मिल्छन् भन्ने कुरालाई हामीले खासै गम्भीर ढंगले लिएका छैनौं, ‘उनले भने ।

उपसभापति गुरुङले कांग्रेस आगामी दिनमा पनि आउने सबै राजनीतिक चुनौतीको सामना गर्न सक्षम र तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?