काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार भंग गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।
वर्तमान सरकारले जेनजी युवाहरुको माग सम्बोधन गर्न नसक्दा पुनः सडकमा विरोधका आवाजहरु उठ्न थालेको बताउँदै नेकपा (माओवादी) ले सर्वपक्षीय सरकार गठनको माग गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै विभिन्न १३ बुँदे मागहरुसहित ज्ञापन पत्र बुझाइएको छ । नेकपा (माओवादी) अहिलेकै अवस्थामा देशमा निर्वाचन हुन नक्सने आशंका समेत व्यक्त गरेको छ ।
‘अफसोच नयाँ सरकार बन्दै गर्दा हाम्रा सुझावहरुलाई ध्यान नदिने मात्र होइन विद्रोहका समयमा उठेका मागहरुप्रति वेवास्ता गरियो र आज मागहरु अलपत्र पर्ने स्थिति बन्यो । यति ठूलो विद्रोह र विध्वंसपछि केवल सरकार परिवर्तन र नयाँ चुनावमै सीमित हुने स्थिति देखियो । यसले विद्रोही जेनजी, जनता र संघर्षरत राजनीतिक शक्ति, आम नागरिक कसैलाई पनि सन्तुष्टि दिन सकेन । देश चुनावतिर कि संघर्षतिर भन्ने दोबाटोमा खडा भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारलाई चुनाव सहजै भैहाल्छ जस्तो लागे पनि स्थिति त्यस्तो छैन । हिजो विद्रोह संगठित गर्ने पुस्ता नै सडकमा उत्रिन थालिसकेका छन् । यदी जनताको भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरुलाई समयमै सुनिएन भने परिस्थिति फेरि पनि विस्फोटक बन्दैन भन्न सकिँदैन ।’
विप्वल नेतृत्वको नेकपा (माओवादी) ले वर्तमान सरकार भंग गर्नेदेखि संविधान संशोधनसम्मका मागहरु राखेको छ ।
‘वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,’ मागमा भनिएको छ, ‘जेनजी विद्रोहको भावना अनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यक्ताको शिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गरिनुपर्छ ।’
त्यति मात्र होइन प्रत्यक्ष निर्वाचिन कार्यकारीको व्यवस्था, भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गठन, साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्ने लगायतका मागहरु समेत अघि सारेका छन् । साथै आफ्ना मागहरु पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया