काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग राजनीतिक संवाद अघि बढाएपछि राजनीतिमा तरंग पैदा भएको छ ।
सोमबार रातिबाट मंगलबार बिहानसम्म मध्यरातमा रास्वपा सभापति रवि लामिछाने र बालेनबिच वान टू वान वार्ता भएको थियो । छलफलपछि रास्वपाका नेता अशिम शाहले वार्ता सकारात्मक ढंगले अघि बढेको संकेत गरे पनि छलफलबारे केही बाहिरिएको छैन । छलफलमा आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्री स्वीकार गरेर अघि बढ्ने सहमतिका लागि संवादको ढोका खोलिएको बताइएको छ । यद्यपि लामिछानेले भने आफूहरु त्यति परसम्म पुगेर छलफल गरिनसकेको बताए ।
सहकारी ठगी प्रकरणबारेको मुद्दामा तारेख लिन चितवन पुगेका लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले आफूहरुले बालेनसँग मात्र नभएर जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङदेखि उर्जामन्त्री कुलमान घिसिङसम्मलाई समेट्ने तयारी रहेको खुलासा गरे ।
‘बालेनलाई उम्मेदवारको रुपमा प्रधानमन्त्री बनाउने गरी सहमति भएको हो र ?,’ भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूहरुले सो विषयमा कुराकानी प्रवेश नगरिसकेको दाबी गरे ।
‘हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ, पहिला त थाहा हुनुपर्यो कुराकानी हुनुपर्यो । दुवै पक्षको कहाँ के कस्तो छ भन्ने थाहा हुनुपर्यो र सबै बुझ्नुपर्यो । एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो, त्यो चरणमा छौँ । हामी तपाईँहरुले भने जस्तो होइन, हतार नगर्नुस् न ! विस्तारै राजनीतिक छलफलमा हामी प्रवेश गर्छौँ, अरु साथीहरुसँग पनि संवाद निरन्तर कायम छ,’ उनले भने ।
भेटबारे रविले भनेका छन् :
हामीले सुरुमै के भनेका थियौँ भने राष्ट्रिय स्वतन्त्र पार्टी सबै नयाँ र अझ वैकल्पिक भनिएका शक्तिहरुलाई संवादमार्फत् एकैठाउँमा ल्याउने प्रयासस्वरुप हामी अघि बढि नै रहेका छौँ । यसैको एउटा महत्वपूर्ण कडीका रुपमा हामी अघि बढिरहेका छौँ, र बल्ल हाम्रो संवाद सुरु भएको छ ।
हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ, पहिला त थाहा हुनुपर्यो कुराकानी हुनुपर्यो । दुवै पक्षको कहाँ के कस्तो छ भन्ने थाहा हुनुपर्यो र सबै बुझ्नुपर्यो । एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो, त्यो चरणमा छौँ । हामी तपाईँहरुले भने जस्तो होइन, हतार नगर्नुस् न ! विस्तारै राजनीतिक छलफलमा हामी प्रवेश गर्छौँ, अरु साथीहरुसँग पनि संवाद निरन्तर कायम छ । सुदन गुरुङजीसँग कुराकानी भएको छ, कुलमानजीसँग पनि कुराकानी भएको छ । सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौँ र मैले भने अनुसार रास्वपा त्यसमा लागिरहेको छ । तर हामी दुई जना मात्र बसेको वार्तामा सबैले जजसलाई जे जे स्वाद लाग्छ त्यही भन्दिनु त भएन । तर ठिक छ हामी काम गरिरहेका छौँ । हामी निरन्तर प्रयास गरिरहेका छौँ । रास्वपाले गर्छ यो, रास्वपाको जिम्मेवारी पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया