काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्वसचिव अर्जुन बहादुर कार्की लगायतका ४ प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको छ । सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
राजदरबारको दक्षिण गेट अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रष्टको दुई रोपनी जग्गा भाडामा दिने निर्णयमा ठगी गरी नेपाल सरकारलाई हानी नोक्सानी पुराएको भन्दै सीआईबीले पूर्व सचिव कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु डेभलपर्सका सञ्चालक लाक्पा सोनाम शेर्पा र प्राकृतिक व्यक्तिका रूपमा थामसेर्कु ट्रेकिङ प्रालिसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।
सीआईबीले तयार पारेको प्रतिवेदनमा पूर्वसचिव कार्कीसहितको मिलेमतोमा ३ तलाको मात्रै सम्झौता भएकामा ५ तलाको भवन बनाएको तथा थप भएको भवनको भाडासमेत नतिरी ठगी गरिएको उल्लेख छ ।
साथै उनीहरूले हालसम्म ३८ करोड ८४ लाख ५३ हजार ४३० रुपैयाँ ठगी गरेको भन्दै उक्त रकमसमेत असुल गर्न माग गरेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया