एमाले महाधिवेशन : मतदानका लागि अझै कम्तिमा ४ घण्टा लाग्ने

लोकपथ
581
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । निर्वाचन समितिले अपरान्ह ४ बजेबाट मतदान गर्ने तयारी गरेको थियो । तर प्राविधिक कारणले मतदानमा अझै ढिलाई हुने भएको हो ।

एमालेले विद्युतीय मतदानबाट नेतृत्व चयन गर्दैछ । निर्वाचन समितिले उम्मेदवारहरुको नाम पुनः प्रकाशित गरेपछि मतदानमा ढिलाइ हुने भएको हो ।

पुनः अर्को नाम केहीबेरअघि मात्रै प्राप्त भएको र अब नाम रि–ईन्ट्री गरेपछि मात्रै मतदान सुरु हुनेछ । नाम ईन्ट्रीका लागि अझै ४–५ घण्टा लाग्ने भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले लोकपथलाई जानकारी दिए ।

‘निर्वाचन समितिले पुनः नयाँ नामावली प्रकाशन गरेको छ । यसअघि नै प्रकाशित नामावलीमा त्रुटी रहेका कारण पुनःनाम आएको र त्यसलाई ईन्ट्री गरेपछि मात्रै मतदान सुरु हुनेछ,’ उनले लोकपथसँग भने, ‘धेरै उम्मेदवार रहेका कारण नाम ईन्ट्रीका लागि अझै ४–५ घण्टा जति लाग्ला ।’

निर्वाचन समितिले दिएको समय अनुसार प्राप्त भएको उम्मेदवारहरुको नाम प्रकाशित भएको थियो । तर त्यसमा केही त्रुटी भएपछि पुनः नाम प्रकाशित गरिएको हो ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले महाधिवेशनको बन्दसत्र आइतबारबाट भृकुटीमण्डपमा सुरु भएको हो ।

नयाँ नेतृत्वका लागि एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिष्पर्धा हुँदैछ । विधान संशोधनपछि १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ । यद्यपि कतिपय केन्द्रीय सदस्य भने स्वतः निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?