पोखरा विमानस्थल घोटाला प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
728
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

अख्तियारले तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा. रामशरण महत र पोस्टबहादुर बोगटीलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । जसमध्ये पूर्वमन्त्री बोगटीको निधन भइसकेको छ भने डा. महत अस्वस्थ छन् । 

अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्‍याएको हो ।

यो विषयमा अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको छ । 

अख्तियार स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् । 

यस्तै, सर्वोच्च अदालतका पूर्वरजिस्ट्रारसमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो । २०६५ देखि अध्ययन सुरु गरेर २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले समेत २०८२ वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियारलाई पठाएको थियो । समितिले प्रतिवेदन बुझाएको ७ महिनापछि अख्तियारले आइतबार अनुसन्धान टुंग्याउने विशेष अदालतमा मुद्दा लगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?