पर्यटन प्रवर्द्धनको पाँच वर्षे रणनीति बनाउन सरोकारवालासँग छलफल जारी

लोकपथ
35
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)ले संयुक्त रूपमा नेपालको पाँच वर्षे पर्यटन रणनीति निर्माणका लागि सरोकारवालासँग औपचारिक छलफल सुरु गरेका छन् । 

बिहीबार काठमाडौंस्थित एक होटलमा आयोजित कार्यक्रममा पर्यटन विकास, प्रवर्द्धन र दीगो पर्यटनका विषयमा विस्तृत बहस भएको हो ।

नेपालमा सन् २०१५ यतादेखि दीर्घकालीन पर्यटन रणनीति नबनेको उल्लेख गर्दै सरोकारवालाले यसअघि पनि युएनडिपीसँग मिलेर पर्यटन प्रवर्द्धनमा सहयोग गरिएको र अब पुनः पाँच वर्षे रणनीति निर्माण प्रक्रियालाई अघि बढाइएको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य ऋषि भण्डारीका अनुसार बोर्ड र युएनडिपी सहकार्यमा सञ्चालित ‘सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटिपी)’ अन्तर्गत विगत एक वर्षमा भएका काम, सहकार्यका मोडल तथा विभिन्न क्षेत्रमा सञ्चालन भएका गतिविधिबारे अपडेट लिन तथा आगामी योजनाको दिशानिर्देशन गर्न छलफल गरिएको हो ।

उनका अनुसार दुर्गम ट्रेकिङ पदमार्गका पूर्वाधार सुधार, स्थानीय समुदायमा पर्यटनबारे चेतना अभिवृद्धि, गाइड तथा सेवा क्षेत्रका स्रोत व्यक्ति प्रशिक्षण, हिमाल आरोहण तथा होटेल सेवामा आवश्यक व्यवहारगत तालिम जस्ता कार्यक्रम एसटिपीमार्फत अघि बढाइएका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणि लामिछानेले आगामी पाँच वर्षका लागि उपयुक्त योजना र रणनीति बनाउने उद्देश्यले छलफल सुरु भएको बताए । उनले सरकारद्वारा हालै पोखरालाई ‘पर्यटन राजधानी’ घोषणा गरिएको उल्लेख गर्दै पर्यटनको संरचना तथा दिशानिर्देश यस छलफलले स्पष्ट गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै बोर्डका निमित्त निर्देशक रोहिणी खनालले पर्यटनको वर्तमान ट्रेण्ड, बजार अवस्था तथा सम्भावनाको अध्ययनका आधारमा धेरै पर्यटक आकर्षित गर्ने रणनीति बनाउन यस छलफलले मार्गचित्र तयार गर्ने बताए ।

नेपाल पर्यटन बोर्डकी सिनियर म्यानेजर श्रद्धा श्रेष्ठले २०१ छ पछि ‘स्टाटेजिक मार्केटिङ प्लान’ बन्न नसकेको उल्लेख गर्दै अब सरोकारवालासँगको विस्तृत छलफलमार्फत दीगो र प्रभावकारी मार्केटिङ रणनीति निर्माणमा बोर्ड अगाडि बढेको जानकारी दिइन् ।

सस्टेनेबल टुरिजम परियोजनाका प्रोजेक्ट म्यानेजर धर्म दवाडीका अनुसार नेपालको पर्यटनलाई विश्व बजारमा अझ प्रभावकारी ढंगले प्रस्तुत गर्न बोर्ड आक्रामक रूपमा काम गरिरहेको छ । अपि, सैपाल, मनास्लु र कञ्चनजङ्गा पदमार्ग स्तरोन्नतिको योजना पनि रणनीतिक छलफलको प्रमुख एजेन्डामा रहेको उनले बताए ।

यी सबै छलफल र तयारीमार्फत नेपालले आन्तरिक तथा बाह्य दुवै क्षेत्रमा पर्यटन प्रवर्द्धनलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?