काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलनलाई सहज बनाउन अब राष्ट्रिय परिचय पत्र (नेशनल आइडी कार्ड)बाटै बायोमेट्रिक विवरण प्रयोग गरिने बताएका छन् ।
जेनजी प्रतिनिधिहरूसँग बिहीबार भएको छलफलका क्रममा उनले धेरै नेपालीले राष्ट्रिय परिचयपत्र (नेशनल आइडी कार्ड) बनाइसकेकाले सो कार्डमा रहेको बायोमेट्रिक प्रयोग गर्दा मतदाता नामावली दर्ता प्रक्रिया झन् सहज हुने विश्वास व्यक्त गरे ।
भण्डारीले भने, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिकलाई अनलाइन फारमसँग जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय गरेका छौँ । यसले तपाईँहरूका मागहरू सम्बोधन गर्छ ।’
उनका अनुसार अध्ययन वा कामका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भरेर नामावली दर्ता गराउन सक्ने छन् । ‘विदेशमा रहेका नेपालीले अनलाइनमा फारम भर्नुभयो भने नेशनल आइडीमा भएको बायोमेट्रिक ल्याएर दाँजिन्छ, ‘उनले बताए ।
भण्डारीले सुरुवाती चरणमा मतदाता नामावली दर्तामा खासै चासो नदेखिए पनि पछिल्लो समय उल्लेखनीय चाप देखिएको बताए । निर्वाचन आयोगले अनलाइन प्रणालीमार्फत मतदाता नामावली संकलनलाई सहज, सुरक्षित र समावेशी बनाउने तयारी अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया