काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

लोकपथ
77
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज (बुधबार) बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ, भने सहचालक गम्भीर घाइते भएका छन् ।

बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट करिब ६० मिटर तल खस्दा मण्डनदेउपुर-७ झगारपुरका २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार चालक राई ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेका थिए ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका सहचालक २२ वर्षीय विक्रम राईको शरीरका विभिन्न भाग जलेकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि आगलागीसमेत भएको थियो र घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?