काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा दुईथरी मत देखिँदा आज पनि बैठक निष्कर्षविहीन बनेको छ ।
केही दिनदेखि निर्वाचनअघि महाधिवेशन गर्ने वा पछि भन्ने विषयमा निष्कर्ष ननिस्किरहेका बेला आज पनि सोही प्रकरणले निरन्तरता पाएको हो ।
सोमबार ललितपुरको धोबीघाटस्थित एक होटलमा बैठक बसेको थियो । जहाँ राष्ट्रिय चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने वा चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा छलफल भएको थियो । तर अन्तिममा सहमती नजुटेपछि भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक समेत के हुन्छ भन्ने अन्योलता देखिएको हो ।
ढिलोमा पुसको दोस्रो साताभित्रै महाधिवेशन गर्नुपर्नेगरी अघि बढेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु जसरी पनि केन्द्रीय समिति बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीमा छन् । तर हालको संस्थापन पक्ष भने वर्तमान केन्द्रीय समितिको म्याद थप गर्दै आगामी वैशाखसम्म नियमित महाधिवेशन गर्ने पक्षमा देखिएको छ । जसकारण दुई पक्षबिच आज पनि सहमती जुट्न नसकेको हो ।
महामन्त्रीद्वयले निर्वाचन अघि नै महाधिवेशन गर्नेगरी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिरहँदा संस्थापन पक्ष भने निर्वाचनपछि मात्रै महाधिवेशन गर्नेगरी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिरहेको छ । यसअघि नै आफूले भने अनुसारको प्रस्ताव प्रस्तुत हुन नसकेपछि महामन्त्री थापाले केन्द्रीय समिति बैठक नै बहिस्कार गरेका थिए ।
यता पार्टी केन्द्रीय कार्यालयमा समयमा नै नियमित महाधिवेशन गनुपर्ने मागसहित युवाहरुले तालाबन्दी समेत गरेका छन् ।
दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस नहुँदा भोलिको केन्द्रीय समिति बैठक समेत प्रभावित हुने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया