सुर्खेत । चाडपर्वको समयमा भुवा जात्रा हेर्न गएका दैलेखका एक युवकको जाजरकोटमा हत्या गरिएको छ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–८ पंकमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका–४ उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगर मृत फेला परेका हुन् ।
जाजरकोट प्रहरीका अनुसार, कार्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा भुवा जात्रा लागेको थियो । सोही क्रममा कार्तिक ४ गते बिहान पुनमाथि कुटपिट भएको थियो ।
गम्भीर घाइते भएका उनलाई उनका साथी विवेक बुढा मगर र वीरबहादुर घर्ती मगरले घटनास्थलबाट घरतर्फ लगेका थिए । त्यसपछि कार्तिक ५ गते पुन आफ्ना साथीहरूसँग घर फर्कने क्रममा पंक गाउँकै दलवीर रावतको घरमा पुगेका थिए । तर, सोही रात भान्छा कोठामा सुतेका उनी कार्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए ।
घटनापछि संलग्न व्यक्तिहरू फरार भए पनि जिल्ला प्रहरी कार्यालय जाजरकोट र दैलेखको संयुक्त टोलीले कार्तिक ७ गते विभिन्न स्थानबाट सबैलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका–४, भित्रिखोलाका २९ वर्षीय पदम बहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया