ललितपुरमा नागरिक उड्डयन प्राधिकरण महानिर्देशकमाथि आक्रमण, तीन पक्राउ

लोकपथ
1.6k
Shares

ललितपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानिर्देशक अधिकारीमाथि सोमबार साँझ सातदोबाटोस्थित एन्फा कम्पाउण्ड बाहिर आक्रमण भएको थियो ।

प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार अनुसन्धान जारी रहेको कारण पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक गरिएको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा यस घटनाको अनुसन्धान गरिरहेको छ ।

आक्रमणकारीहरूले प्रयोग गरेको स्कुटर त्यहीँ छोडेर भागेका थिए । घटनामा संलग्न हेम तामाङलाई पक्राउ गरिएको छ ।

एसएसपी बोगटीले घटनाको विवरण दिँदै भने, ‘उनीहरूले अरू कोहीमाथि हातपात गर्ने क्रममा महानिर्देशक अधिकारी परेका हुन् कि उनलाई लक्षित गरेर हमला भएको हो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । यदि अधिकारीमाथि लक्षित आक्रमण भएको हो भने त्यसको कारण के हो भन्ने विषयमा अनुसन्धान जारी छ ।’

उनले थपे, ‘सर्वेक्षण र अनुसन्धानबाट उनीहरूको संलग्नता देखिन्छ, तर अन्य विषयहरू अझै निर्क्यौल भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?