एक पैसा पनि भ्रष्टाचार गरेको छैन, सम्पादक मण्डलले नै छानबिन गरे हुन्छ : ओली

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले यस्तो दाबी गर्दै आफूविरुद्ध लगाइएका आरोपको छानबिन गर्न चुनौती दिएका हुन् । 

ओलीले नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले नै छानबिन गर्न सक्ने बताउँदै भने, ‘तपाईँहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न, अरूको सक्नुहुन्न भने केपी ओली एउटाको मात्रै गर्नुस् ।’

उनका अनुसार आफू सांसद र प्रधानमन्त्री रहँदाको तलब भत्ताबाट जम्मा भएको करिब २० देखि २५ लाख रुपैयाँ मात्र बैंक खातामा रहेको छ । मैले एक पैसा भ्रष्टाचार गरेको छैन,‘ओलीले भने, ‘मेरो घर डढेको हो, त्यसको खरानी बाहेक केही छैन । त्यसको पनि हिसाब गर्न सक्नुहुन्छ ।’

सरकारले आफ्नो बैंक खाता रोक्का गर्न लागेको खबरबारे पनि ओलीले प्रतिक्रिया दिँदै भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु, तर त्यसमा के छ र ? मेरो सम्पत्ति विश्वभरका बैंकहरूसँग सोधेर पनि छानबिन गर्न सकिन्छ ।’

ओलीले सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?