काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारण पार्टी सदस्यहरुको शिर झुक्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कास्कीको पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए । साथै आफू पार्टी सत्तामा आएपछि कुनै पनि सदस्यहरुलाई आफ्नो कारणले शिर निहुरिन पर्ने अवस्था नपार्ने बताए ।
‘म तपाईँहरुले बनाएको सभापति हो । सभापति भनेको जिम्मेवारी मात्र हो, म तपाईँहरु बराबर मात्र हो । अझ उमेरमा तपाईँहरु कतिपय भन्दा सानो छु, मेरो दाइहरु हुनुहुन्छ, दिदीहरु हुनुहुन्छ । कतिपय नयाँ पुस्ताका ब्राइट साथीहरु आउनुभएको छ । मलाई तपाईँहरुले सभापति बनाउनुभएको छ,’ सभापति थापाले भने, ‘मेरो व्यक्तिगत आचरणले, भेरो स्वभावले, मेरा निर्णयले, मेरा कर्मले मेरा पार्टीका साथीहरुले कतै एक ठाउँमा गएर मेरा नेताको कारणले कांग्रेस यस्तो भयो र शिर निहुराउनुपर्ने अवस्था आयो भन्ने अवस्था आउन दिन्न । मैले इमान्दारिपूर्वक आफ्नो कर्म गर्छु ।’
यसैगरी पार्टीलाई जनतासँग जोड्नका लागि आफूले केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने समेत बताए । प्रत्येक केन्द्रीय सदस्यलाई गाउँगाउँ वडा वडामा जानेगरी जिम्मेवारी दिइने उनको भनाइ रहेको छ ।
‘अब कोही साथी, एक जना पनि केन्द्रीय सदस्य साथी काठमाडौं बस्ने अवस्था आउन दिन्न । सबैलाई मैले तल पठाउने हो, अब पहिलाको जस्तो म केन्द्रीय सदस्य भएँ भनेर म कहाँ छु भन्दै गर्दा केन्द्रमा छु भन्ने अवस्था अब हुँदैन । सबै साथी तल जाने हो,’ सभापति थापाले भने ।
नजिकिँदो स्थानीय तह निर्वाचनमा समेत केन्द्रबाट टिकट लैजाने प्रवृत्तिलाई अन्त्य गर्ने गरी विधान संशोधन गरिएको स्पष्ट पारे । उम्मेदवार बन्ने पनि तलैबाट चुनिएर आउनुपर्ने उनको भनाइ रहेको छ ।
‘यो पटक कुरा क्लियर है, स्थानीय तह निर्वाचनको उम्मेदवार पनि माथिबाट छान्दैन । पार्टीको विधानमा नै व्यवस्था गरेर आएका छौँ, पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार को बन्ने भन्ने कुरा पोखराकै पार्टी सदस्यहरुले छान्नुहुन्छ । माथि छान्दैन । उम्मेदवार हुने साथीहरु पनि तल जाने, पार्टीका साथीहरु पनि तल जाने । तल जाने भन्नाले तल गाउँमा जाने,’ थापाको भनाइ रहेको छ ।
पार्टीका नेताहरु आउँदा विमानस्थलदेखि अन्य स्थानमा स्वागतका लागि तामझाम नगर्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया