‘बजारको माग धान्न सक्ने गरी फूल उत्पादन गर्न सक्छौँ’

लोकपथ
140
Shares

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेच बढेको छ । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।

नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रूप धारण गरेको हो ।

पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको संख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको संख्या बढ्न थालेको हो ।

यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको संख्या पनि बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ ।

काठमाडौंको नागार्जुन–३ इचंगुका किसान पनि यस समय फूल टिप्न र बेच्नमा व्यस्त छन् । इचंगुकी किसान कान्छी श्रेष्ठ भन्छिन्, ‘पेसाका रूपमा नै फूलखेती गरिरहेको १२ वर्ष भयो । फूलखेती गर्दा मेहनत धेरै लाग्छ, तर तरकारीमा भन्दा फूलमा आम्दानी राम्रो हुन्छ। ‘

उनका अनुसार तिहारको समयमा फूल टिप्न भ्याइ नभ्याइ हुने गर्छ । अहिले उनीहरूले सयपत्री, मखमली, गोदावरी, ज्ञानथुन्गे, असार्फी र बखमली गरी ६ परिकारका फूलखेती गरेका छन् ।

बाहिरी मुलुकबाट आयात हुने फूलले स्थानीय उत्पादनमा असर पुर्‍याएको उनको भनाइ छ । ‘बाहिर देशबाट फूल नआउँदा बजार र मूल्य दुवै राम्रो पाइन्छ,‘ श्रेष्ठ भन्छिन्, ‘तर आयात भएपछि हामीले फलाएका फूल सस्तोमा बेच्नुपर्छ । सिजनमा मात्र व्यापार हुने फूलले बजार नपाउँदा घाटा व्यहोर्नुपर्छ । बाहिरबाट नआए एकान्त फूल ढ्वाङकाे १२ सयदेखि १३ सय रुपैयाँमा बिक्छ, तर बाहिरबाट आएपछि २–३ सयमै बेच्नुपर्छ ।’

उनकाे अहिले फूलखेतीबाट महिनामा झन्डै १ लाख ९० हजारसम्म आम्दानी हुने गरेको छ । ‘नेपालमै उत्पादन भएको फूलले बजार धान्न सक्छ,’ उनी भन्छिन्

अर्की फूल व्यवसायी सुशीला श्रेष्ठ पनि विगत १२ वर्षदेखि फूल उत्पादन गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘सिजनमा व्यापार राम्रो हुने भएकाले उत्पादन गर्न सके फाइदा हुन्छ । उत्पादन गरेर आफैँले बेच्न सके अझ राम्रो आम्दानी हुन्छ, तर अरू मार्फत बिक्री गर्दा लाभ कम हुन्छ ।’

उनका अनुसार टेनिसबल फूल विदेशी बिउ भएकाले महँगो हुने गर्छ । ‘बिउको नै ४ हजार ४५ सय पर्छ, त्यसैले यो फूल महँगो हुन्छ,’ उनी भन्छिन् ।

विशेषगरी तिहारमा फूलको व्यापार अत्यधिक हुने भएकाले किसान र व्यवसायीहरू अहिले फूल टिप्न, बाँध्न र बिक्री गर्नमा व्यस्त छन् ।

काठमाडौं महानगरपालिकाले भने यस वर्ष स्वदेशमै उत्पादित फूललाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनअघि पत्रकार सम्मेलन गरेर विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने नीति महानगरले लिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?