काठमाडौं । भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा देशभरका २३ अदालतमा आगजनी भयो । आगलागी गराइएका २३ अदालतमा रहेका करारका अधिकांश कर्मचारी भने यति बेला घाम तापेरै तलब खाइरहेका छन् ।
सर्वोच्च अदालत लगायत देशभरका सबैजसो अदालतमा बजेट प्रयोजनका लागि भन्दै कम्प्युटर अपरेटर, डिट्ठा, तामेलदार, कार्यालय सहयोगी र ड्राइभरको नियुक्ति गर्ने गरिन्छ । करारमा नियुक्ति गरिएका उनीहरूलाई आवश्यक नभएको अवस्थामा हटाउन सकिने व्यवस्था पनि हुन्छ ।
तर भदौ २४ गते भएको आन्दोलनपछि देशभरका २३ अदालतमा आगजनी भई कतिपय अदालत पूर्ण क्षमतामा सुचारु हुन अझै करिब ५ महिना लाग्ने अवस्था छ । अदालत पूर्ण क्षमतामा चल्न अझै करिब ५ महिना लाग्ने भएपछि करारमा नियुक्त गरिएका अधिकांश कर्मचारी यति बेला घाम तापेर बस्ने अवस्थामा छन् ।

अदालत प्रशासनले काम दिन नसके पनि ती कर्मचारीहरूलाई अहिले हटाउने वा होल्ड गर्ने गरिएको छैन । यतिसम्म कि कार्यालयको गाडी जलेर खरानी भए पनि करारमा राखिएका ड्राइभरले तलब बुझिरहेका छन् । मुद्दाका कुनै मिसिल बाँकी नरहेको भए पनि तामेलदारहरूले हाजिर गरेर तलब खाइरहेको बुझिएको छ ।
यी हुन् जलेका अदालतहरू
१. सर्वोच्च अदालत
२. उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास
३. उच्च अदालत तुलसीपुर, बुटवल इजलास
४. उच्च अदालत तुलसीपुर
५. उच्च अदालत विराटनगर
६. उच्च अदालत पाटन, हेटौंडा इजलास
७. उच्च अदालत पोखरा
८. उच्च अदालत जनकपुर, राजविराज इजलास
९. विशेष अदालत
१०. काठमाडौं जिल्ला अदालत
११. बाँके जिल्ला अदालत
१२. रुपन्देही जिल्ला अदालत
१३. मोरङ जिल्ला अदालत
१४. सिराहा जिल्ला अदालत
१५. सप्तरी जिल्ला अदालत
१६. कैलाली जिल्ला अदालत
१७. कास्की जिल्ला अदालत
१८. मकवानपुर जिल्ला अदालत
१९. दाङ जिल्ला अदालत
२०. तनहुँ जिल्ला अदालत
२१. चितवन जिल्ला अदालत
२२. कपिलवस्तु जिल्ला अदालत
२३. सिन्धुली जिल्ला अदालत
जेन जी आन्दोलनका क्रममा यी अदालतहरूमा क्षति पुगी पूर्ण क्षमतामा काम गर्न सक्ने अवस्था नरहेको भए पनि करारमा रहेका तर तत्काल आवश्यक नभएका कर्मचारीहरूलाई समेत बिदा गरिएको छ । सरकार पुनर्निर्माणमा लाग्नुपर्ने र खर्च घटाउनुपर्ने चुनौतीमा रहेको भए पनि देशका कुनै पनि अदालतले तत्काल काम दिन नसक्ने कर्मचारीलाई समेत बिदा गर्न सकेको छैन ।
धेरैजसो अदालतहरुमा ठूलो सङ्ख्यामा कार्यालय सहयोग र तामेलदारहरू करारमा नियुक्त गरिएका हुन्छन् । अहिले अधिकांश अदालतले तामेलदारलाई काम दिन सकेको छैन भने कार्यालयका सवारीसाधन जलेका अदालतले समेत चालकलाई हटाएको छैन । कतिपय अदालतमा गाडीको सङ्ख्याभन्दा चालकका सङ्ख्या कम छन् । सर्वोच्च अदालतमा नै पुलमा राखिएका कतिपय सवारी चालकले सवारी चलाउन पाएका छैनन् । अधिकांश सवारीसाधन जलेको कारण सवारी चलाउन नपाएको भए पनि उनीहरूले घाम तापेरै तलब बुझिरहेका छन् ।

देशभरका अदालतहरूमा अहिले कार्यालय सहयोगी र एकाध कम्प्युटर अपरेटरले मात्रै काम गरिरहेका छन् । पुरानो फैसला लेखनका लागि कम्प्युटर अपरेटर र अदालत परिसरको सरसफाइ, मिसिलको खोजी वा संकलन आदिका लागि कार्यालय सहयोगीले काम गरिरहेको भए पनि सवारी चालक, तामेलदार र डिट्ठाहरूले भने काम पाएका छैनन् । यद्यपि कुनै पनि अदालतले ती कर्मचारीहरूलाई होल्डमा राखेको वा सेवाबाट हटाएको भने छैन ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतमा ६८ जना करारका कर्मचारीहरू रहेका छन् । जसमध्ये ४० जना कार्यालय सहयोगी छन् भने २५ जना कम्प्युटर अपरेटर र ३ जना सवारी चालक रहेका छन् ।
अदालतमा तामेलदार पदमा करारका कर्मचारी नभएको कारण यहाँ भने तत्काल हटाउँदा पनि हुने कर्मचारी छैनन् ।
२५ जना कम्प्युटर अपरेटरहरूले अहिले धमाधम पुरानो फैसला लेख्ने काम गरिरहेका छन् भने अदालतमा ३ जना सवारी चालक मात्रै करारमा छन् । कार्यालयको तीन वटा गाडी रहेकामा एउटा गाडी जलेको छ भने दुई वटा गाडी काम गर्ने अवस्थामा छन् ।
त्यसै गरी बाँकेका स्रेस्तेदार इन्द्र बहादुर कार्कीका अनुसार अदालतमा कुल ११ जना करारका कर्मचारी छन् । करारमा रहेका ११ जना कर्मचारीमध्ये तामेलदार ४ जना रहेका छन् भने डिट्ठा ३ जना रहेका छन् । त्यसै गरी सवारी चालक २ जना र १० कार्यालय सहयोगीमध्ये २ जना करारमा रहेका छन् ।
बाँके जिल्ला अदालतमा दुई वटा गाडी रहेकामा अदालतकै एक गाडीमा आगजनी भएर नष्ट भएको छ । बाँकी एक गाडीका लागि दुई जना सवारी चालकले तलब बुझिरहेका छन् ।

मुद्दाको तामेली गर्ने करारका ४ तामेलदारले अहिले कुनै काम गर्न पाएका छैनन् । उनीहरू बिहान हाजिर गरेर फर्कन्छन् र महिना पुगेपछि तलब बुझ्छन् । अहिले अदालतमा डिट्ठाको पनि कुनै काम छैन । बाँके जिल्ला अदालत पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै करिब ६ महिना लाग्ने बुझिएको छ । त्यहाँ कार्यालय सहयोगबाहेक अन्य करारका कर्मचारीको तत्काल काम नभएको बुझिएको छ । यद्यपि त्यहाँ पनि कुनै कर्मचारीलाई कटौती गरिएको छैन ।
सबैभन्दा धेरै क्षति भएको सर्वोच्च अदालतमा पनि पुलमा रहेका कैयन् सवारीचालकले काम नै नगरी तलब बुझिरहेका छन् । सर्वोच्चमा करारमा समेत कम्प्युटर अपरेटर लगायतको नियुक्ति छ । तर गाडी नै नभएको सर्वोच्चमा चालकले घाम तापेरै तलब बुझिरहेका छन् ।
जलेका २३ वटै अदालतले पूर्ण क्षमतामा काम गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा करारका कर्मचारीलाई तत्काल होल्ड गरेर खर्च घटाउन सकिने भए पनि पछिका लागि भन्दै अहिले कुनै पनि कर्मचारीलाई बिदा गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया