तिहारको मुखमा विमानस्थलमा भीड, युवा भन्छन्– ‘सरकारले देशमै बस्ने वातावरण बनाओस्’

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप पनि उस्तै छ ।

पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् ।

विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ ।

अधिकांश यात्रु खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रमिक गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तिहारजस्तो सांस्कृतिक पर्वमा परिवारबाट टाढा हुनुपर्ने अवस्था एक पीडादायी भएको वैदेशिक रोजगारीका लागि देश छोड्दै गरेका युवा श्यामकुमार रैलाले बताए । अन्तरिम सरकारलाई देशमा रोजगारीको सिर्जना गर्ने वातावरणको निर्माणको व्यवस्था होस् भन्ने उनको सुझाव रहेको छ ।

उनले भने, ‘चाडबाडको मुखमा यसरी आफ्नो स्वदेशी भूमि छाडेर विदेशमा जानुपर्दा हरेक नेपालीलाई नराम्रौ लाग्छ, मलाई मात्र होइन । अब देशमा नयाँ सरकार गठन भएको छ । नयाँ नयाँ परिवर्तन हुँदैछ विस्तारै । अब हामी जस्तो पढेलेखेका युवाहरु देशलाई चाहिन्छ हामीलाई पनि थाहा छ त्यो । रोजगारीको वातावरण यो नयाँ आएको सरकारले हामीलाई व्यवस्था गरिदियोस् भन्ने हाम्रो चहाना हो । अब भएका दक्ष युवा शक्तिहरु नेपालमै हुन् भन्ने चाहीँ हाम्रो पनि कामना हो ।’

एकातिर देशमा तिहारको रौनक तयार हुँदैछ । अर्कातर्फ हजारौँ नेपालीहरू विमानस्थलमा परिवारको हात छोडेर आफ्नो भविष्य खोज्दै उडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?