भद्रपुरमा नवजात शिशु फेला

लोकपथ
189
Shares

झापा । भद्रपुर नगरपालिका–७ बुद्धशान्तिमा एक नवजात शिशु फेला परेकी छन् । सीमा आचार्यको घरको बरन्डामा करिब ४–५ दिनकी शिशु अलपत्र अवस्थामा भेटिएकी हुन् ।

आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका-७ का ओमप्रकाश तुमिहाङ लिम्बूले बिहीबार राति करिब ९ बजे शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई खबर गरेका थिए ।

सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीयवासी, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि पठाइएको उनले बताए ।

प्रहरीका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?