केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै, निर्वाचन सुरक्षा योजनाको समीक्षा हुने

लोकपथ
70
Shares

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दैछ। गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन्।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने तयारी गरेको छ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा उक्त समिति गठन गरिएको हो। गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ नै एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका हुन् । समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सदस्य र उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव रहेका छन् ।

समितिले तयार पारेको सुरक्षा योजना कार्यान्वयनका लागि सबै जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?