जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

लोकपथ
189
Shares

 काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै राजनीतिक, नागरिक र बुद्धिजीवी पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अहिलेको राजनीतिक समस्या समाधानका लागि राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिको एकता जरुरी भएको बताए ।

संयोजक दाहालले भने, ‘हामी अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । संविधान र लोकतन्त्र जोगाउने सबैभन्दा सहज र राष्ट्रहित विकल्प भनेको फागुन २१ गतेको निर्वाचन हो ।’ उनले अन्तरिम सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि यसमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

दाहालले जेनजी आन्दोलनका भावनालाई सम्बोधन गर्दै संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नयाँ संसद्ले संविधान परिमार्जनमार्फत जनताको अपेक्षा पूरा गर्न तयार रहेको बताए ।

समाजवादी मोर्चामा आबद्ध वामशक्तिबीच चाँडै औपचारिक एकता हुने जानकारी दिँदै दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्ति पनि एक हुनुपर्ने आवश्यकता औँल्याए । उनले जेनजी पुस्तालाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी भन्दै, ‘भदौ २३ गतेको आन्दोलनमार्फत युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ,‘ उनले भने ।

त्यस्तै, माओवादी नेता वर्षमान पुनले जेनजी युवाको चाहना र भावना सम्बोधन गर्नुको विकल्प नरहेको बताए र आन्दोलनका क्रममा भएको घुसपैठको निष्पक्ष छानबिन गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?