राष्ट्रपति पौडेलद्वारा भयरहित निर्वाचन सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन

लोकपथ
224
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र आम नागरिकलाई विश्वास दिलाउँदै भयरहित, स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शनिबार राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू, चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । राष्ट्रपति पौडेलले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूले ‘साहसिक’ रुपमा प्रस्तुत हुन आवश्यक रहेको बताए ।

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदी बन्दीहरू तत्काल फिर्ता गर्न पनि आग्रह गरे ।

अन्तरिम प्रधानमन्त्री कार्कीले निर्वाचनमा पूर्ण तयारीसहित लाग्ने र सुरक्षा निकायलाई आवश्यक सबै साधन तथा स्रोत उपलब्ध गराउने सरकारको प्रतिबद्धता व्यक्त गरे ।

सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रपति पौडेललाई विश्वास दिलाउँदै विगतका कठिन परिस्थितिमा पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएको स्मरण गराए र यसपटक पनि सम्पूर्ण रूपमा निर्वाचन व्यवस्थापनका लागि सक्षम रहेको जानकारी दिए।

छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री बाहेक सबै मन्त्रीहरू, प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?