व्यापारीहरुको गुनासो : ‘तिहारमा गत वर्षको जस्तो टोपीको व्यापार भएन’

लोकपथ
154
Shares

काठमाडौं । यस वर्ष तिहारको मुखमा पनि टोपीको व्यापार फस्टाउन नसकेको व्यापारीहरूले गुनासो गरेका छन् । देशभर जेनजी आन्दोलनका कारण तोडफोड, आगजनी र लुटपाटले समाज अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा यसपटक व्यापार ठप्पजस्तै भएको उनीहरूको भनाइ छ ।

काठमाडौंको न्युरोड क्षेत्रका व्यापारी ज्योति मानन्धरका अनुसार विगतका वर्षमा जस्तै यसपालि टोपीको माग नबढ्दा व्यापारीहरू निराश छिन् । उनले भनिन्, ‘यसपाली व्यापार खासै चलेको छैन, राजनीतिले असर पुर्‍याएको होला । तिहारमा दाजुभाइलाई उपहारस्वरूप टोपी दिने चलन छ, तर यसपटक त्यो पनि कमजोर देखियो ।

तिहारमा सामान्यतया दाजुभाइलाई उपहारका रूपमा टोपी, मोजा, पर्सजस्ता सामग्रीहरू उपहार दिने चलन रहिआएको छ । तर, राजनीतिक अस्थिरता र बजारको निष्क्रियताले यस वर्षको बिक्रीमा ठुलो प्रभाव परेको व्यापारीहरूको बुझाइ छ ।

तिहारको पहिलो दिन आइतबार परेको छ । अझै दुई–तीन दिन बाँकी रहेकाले केही बिक्री बढ्ने आशा व्यापारीहरूले गरेका छन् । नेपालमा तिहारलाई दोस्रो ठुलो चाडका रूपमा मनाइन्छ, जहाँ दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै टोपीलगायतका उपहार प्रदान गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?