काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा राजधानीका बत्ती व्यवसायीहरूमा व्यापार वृद्धिको उत्साह छाएको छ । उज्यालो र समृद्धिको प्रतीकका रूपमा मनाइने तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ, जसका अवसरमा घर–आँगन झिलिमिली पार्न विद्युतीय बत्तीहरूको माग हरेक वर्षजस्तै यस पटक पनि तीव्र रूपमा बढेको छ ।
तिहारका पाँच दिनमा घर, कार्यालय, मन्दिर र सार्वजनिक स्थलहरू बत्तीले झलमल्ल पार्ने परम्परा रहेको छ । नकारात्मक शक्ति टाढा राख्ने विश्वासमा बालिने यी बत्तीहरूको धार्मिक र सांस्कृतिक महत्त्व पनि रहेको व्यापारीहरू बताउँछन् ।
यस वर्ष ऊर्जा–बचत गर्ने एलईडी र सोलार बत्तीको बिक्री उल्लेखनीय रूपमा बढेको छ । नयाँ व्यवसायी ज्याकिर हुसेनका अनुसार दैनिक १५ सयदेखि २० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ ।
‘यो वर्ष पहिलो पटक बत्ती व्यवसाय सुरु गरेको हुँ,’ उनले भने, ‘यदि यसपालि पनि राम्रो आम्दानी भयो भने अर्को वर्ष फूलमाला र अन्य सजावट सामग्रीमा पनि व्यवसाय विस्तार गर्ने सोच छ ।’
लामो समयदेखि बत्ती बिक्री गर्दै आएकी सरिता सोनीले गत वर्ष तिहारमा १ देखि २ लाख रुपैयाँसम्मको कारोबार गरेको बताइन् । उनका अनुसार, ‘यो वर्ष अझ राम्रो हुने अपेक्षा छ । हामीले १ सय ५० देखि ३ हजार रुपैयाँसम्मका बत्ती राखेका छौँ, जसले मध्यम वर्गका ग्राहकलाई लक्षित गर्छ ।’
तिहारको मौसमले बत्ती व्यवसायसँगै सयौँ अस्थायी रोजगारीको अवसर पनि सिर्जना गरेको छ । सिजनल कामदार, ट्रान्सपोर्टर र स्टोर कर्मचारीहरूले यस अवसरमा थप आम्दानी गर्न पाएका छन् ।
व्यवसायीहरूका अनुसार, तिहारपछि सुरु हुने पर्यटकीय सिजनमा पनि झिलिमिली बत्ती र सजावट सामग्रीको माग कायम रहने भएकाले यो व्यवसाय आगामी महिनासम्म पनि लाभदायी बन्ने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया