काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पटक–पटकको ताकेतापछि उद्योगहरूले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता तिर्न सुरु गरेका छन् । आज मात्रै पाँचवटा उद्योगले आफ्ना बक्यौता रकमको पहिलो किस्ता बुझाएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले कुल पाँच करोड ८५ लाख बक्यौतामध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।
त्यस्तै, परासीस्थित लक्ष्मी स्टिलले पनि वैशाखदेखि रोकिएको किस्ताको निरन्तरतामा ८४ लाख ९८ हजार रुपैयाँ तिरेको छ । यसअघि किस्ता बुझाएर बिचमा रोकिएको सर्वोत्तम सिमेन्टले पनि आज ४० लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
बाराको सिमरामा रहेको हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकम किस्ताबद्ध रूपमा तिर्न सुरु गरेको छ । उक्त उद्योगले एक किस्ता ५० लाख ४३ हजारका दरले २८ किस्तामा तिर्न स्वीकृति पाएको छ र शुक्रबार पहिलो किस्ता बुझाएको हो ।
त्यस्तै, सिमराकै अर्को उद्योग अशोक स्टिलले पनि १७ करोड ५८ लाख बक्यौतामध्ये पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाएको छ । अशोक स्टिलले पनि २८ किस्ताको सुविधामा बक्यौता तिर्न सुरु गरेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई बक्यौता रकम तिर्न दबाब दिँदै आएको थियो । अहिले उद्योगहरूले किस्ताबद्ध रूपमा भुक्तानी गर्न थालेपछि प्राधिकरणले यसलाई सकारात्मक कदमका रूपमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया