काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूमाथि सीमा बन्दी र राहदानी रोक्का गर्ने कदम चालेको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्भव नरहेको दाबी गरेका छन् ।
निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बरालले सरकारले शीर्ष नेताहरूलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको भन्दै निर्वाचनको वातावरण नै बिग्रिएको बताए ।
उनले भने, ‘अध्यक्ष ओलीलगायत अन्य दलका नेताहरूमाथि सीमा बन्दी गरिएको छ, पासपोर्ट रोकिएको छ । यस्तो अवस्थामा निर्वाचन निष्पक्ष हुन सक्दैन ।’
बरालले देशभर सुरक्षा निकाय कमजोर अवस्थामा रहेको र प्रहरीका कार्यालयहरू जलेका कारण पनि भयरहित वातावरण बन्न नसकेको बताए । उनका अनुसार १२ हजारभन्दा बढी आधुनिक हतियार बाहिर रहेका र जघन्य अपराधमा संलग्न कैदीहरू अझै फरार रहँदा जनताले निडर भएर मतदान गर्न नसक्ने अवस्था बनेको छ ।
उनले थपे, ‘निर्वाचन सम्पन्न गर्न लुटिएका हतियार फिर्ता गर्नुपर्छ, फरार कैदीहरूलाई समात्नुपर्छ । प्रधानमन्त्रीले सबै दलसँग प्रत्यक्ष संवाद गर्नुपर्ने हो तर त्यसतर्फ सरकारले कुनै पहल गरेको छैन ।’
बरालले सरकारले निर्वाचनको तयारीभन्दा पनि विपक्षी नेताहरूलाई नियन्त्रणमा राख्ने गतिविधि बढाएको आरोप लगाउँदै निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरण सिर्जनाको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया