काठमाडौं । विदेशमा रहेका मतदातालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने मागसहित जेनजी अभियन्ताहरूले शुक्रबार निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।
कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेका उनीहरूले विदेशमा रोजगारीको खोजीमा रहेका मतदातालाई पनि मतदानको अधिकार सुनिश्चित गर्न आयोगलाई आग्रह गरेका थिए ।
जेनजी अभियन्ता शिव यादवले भने, ‘हाम्रो देशमा रोजगारीको अभावका कारण धेरै युवा विदेशिन बाध्य छन्। संविधानले सबै नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरेको छ। अब आउँदै गरेको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा सहभागी गराउनु अनिवार्य छ ।’
जेनजी अभियन्ताहरूले निर्वाचन निष्पक्षरूपमा सम्पन्न गराउन आयोगलाई सचेत गराएका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग विदेशमा रहेका मतदातालाई मतदानमा सहभागी गराउन दत्तचित्त रहेको बताए ।
उनले भने, ‘आयोगले डेढ वर्ष अघि नयाँ निर्वाचन व्यवस्थापन ऐनको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा पठाइसकेको छ। निर्वाचन घोषणा भएपछि सरकारले आयोगलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ। हामी दत्तचित्त भएर विदेशमा रहेका मतदाताको मतदान अधिकार सुनिश्चित गर्नेछौँ ।’
भण्डारीले निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताको संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया