काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कुटनीतिक राहदानी संघीय संसद सचिवालयलाई फिर्ता गरेका छन् । किसानले असोज २३ गते सचिवालयअन्तर्गत गरेको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा राहदानी फिर्ता गरेका हुन् । जसलाई सचिवालयले समेत प्रमाणित गरिसकेको छ ।
जेन जी आन्दोलनपश्चात प्रतिनिधि सभा विघटन भएसँगै सचिवालयले सांसदहरुलाई रातो पासपोर्ट अर्थात् कुटनीतिक राहदानी फिर्ता गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार आफूले राहदानी फिर्ता गरेको उनको भनाई छ । साथै, भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिलाई आफ्नो समर्थन रहेको उनले बताएका छन् । ‘जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिप्रति मेरो पूर्ण समर्थन छ,’ उनले भनेका छन्, ‘अब देशमा शान्ति, सुव्यवस्था र अमनचयनको वातावरण सिर्जना हुन जरुरी छ । त्यो भनेको नयाँ जनादेशबाट मात्र सम्भव छ । त्यसैले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन शान्त, भयरहित र तोकिएकै समयमा हुनुपर्छ भन्ने मेरो माग छ ।’
त्यस्तै, २०७९ को निर्वाचनमा मत दिने बारा क्षेत्र नम्बर ४ का मतदातालाई उनले धन्यवाद दिएका छन् । र, आफू सांसद नभएपनि मधेश र मधेशमा बसोबास गर्ने जनताको हक हित र अधिकारका लागि दिलो ज्यान लगाएर लाग्ने उनले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । ‘मलाई २०७९ सालको निर्वाचनमा अत्याधिक मतले विजयी गराएर दोस्रोपटक संसदको यात्रा तय गराइदिने बारा निर्वाचन क्षेत्र नम्बर ४ का आदरणीय आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु प्रति कृतज्ञ छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म अहिले सांसद नभएतापनि मधेश र मधेशमा बसोबास गर्ने नागरिकको हक हित र अधिकार संरक्षणका लागि दिलो ज्यान लगाएर लाग्ने प्रतिवद्धतासमेत गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया