मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्गको अवलोकन

लोकपथ
105
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गको आज स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतको टोलीसहित काभ्रेको नमोबुद्ध नगरपालिका-६, चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पुर्‍याएको राजमार्गका विभिन्न खण्ड निरीक्षण गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री घिसिङले अस्थायी रूपमा सडक सञ्चालन गर्नका लागि बनाइँदै गरेको डाइभर्सन निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

उनले भने, ‘थप उपकरण र जनशक्ति प्रयोग गरेर रातिसम्म काम गरेर भए पनि शुक्रबार बेलुकासम्म यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिनुहोस् ।’

मन्त्रीले सडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिएका छन् । साथै, गत वर्ष असोजमा रोशी खोलाले बगाएको विपी राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गर्न पनि निर्देशन दिएका छन् ।

अवलोकनका क्रममा स्थानीय नमोबुद्ध नगरपालिका, रोशी र महाभारत गाउँपालिकाका जनप्रतिनिधिहरूले राजमार्ग अवरुद्ध हुँदा जनजीवनमा परेको कठिनाइबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

आठ स्थानबाट डाइभर्सन निर्माण कार्य सुरु

बाढीले क्षतिग्रस्त विपी राजमार्गमा हाल आठ स्थानबाट खोला फर्काएर डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ।

भक्तपुरस्थित डिभिजन सडक कार्यालयका अनुसार, काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान चौकीडाँडा, घुमाउने, चारसय बेँसी, पिन्थली र भ्याकुरेखोला-मा डाइभर्सन बनाउन काम भइरहेको छ ।

उक्त काममा १२ स्काभेटर, ४ ह्वील लोडर र ८ टिपर परिचालन गरिएको छ ।

यस्तै, सिन्धुली खण्डमा पनि नेपालथोकसहित तीन स्थानबाट डाइभर्सन बनाउन थालिएको छ।

खाल्टेस्थित डिभिजन सडक कार्यालयका अनुसार तीमध्ये दुई स्थानमा आज साँझसम्म काम पूरा हुने र बाँकी एक स्थानमा शुक्रबारसम्म डाइभर्सन निर्माण सम्पन्न हुनेछ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार, हाल चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर सडक पूर्ण रूपमा बन्द छ।

बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्‍याएको जनाइएको छ ।

सडक विभागले स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाइसकेको छ ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका मुख्य मार्गको रूपमा रहेको विपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधनको आवागमन हुने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?