काठमाडौं प्रहरीले बुझ्यो ओली र लेखकविरुद्धको किटानी जाहेरी

लोकपथ
6k
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेन जी आन्दोलनका मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी लिएको छ । काठमाडौं परिसरले लगत्तै जाहेरीलाई जाँचबुझ आयोगमा पठाएको छ ।

परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईका अनुसार, आज दिउँसो चार मृतकका परिवारले ओली र लेखकविरुद्ध परिसरमा जाहेरी बुझाएका छन् । 

मृतकका परिवार पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन् । एसपी भट्टराईका अनुसार ओली र लेखकले मानवताविरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो । 

उनले भने, ‘भदौ २३ र २४ गतेको सम्बन्धी एउटा जाँचबुझ आयोग छ । ती दुई दिन भएका जति पनि भौतिक र मानवीय क्षतिसँग सम्बन्धित सूचना तथा निवेदनहरू हामीले जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएका छौँ ।’

उनले थपे, ‘हामीले आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले नियमित संयन्त्रबाट काम कारबाही नहुने भन्ने गृह मन्त्रालयको निर्णय पनि छ । त्यसकारण सबै सूचनाहरू उता पठाउँछौं । आज आएको जाहेरी दरखास्त पनि लिएर त्यहीँ पठाएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?