सात वटै प्रदेशमा १२५ का दरले प्रहरी परिचालन

लोकपथ
518
Shares

काठमाडौं । अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी-पहिरोका जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभर २० हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरेको जनाएको छ ।

आइतबार बिहान सिंहदरबारमा अहिलेको अवस्थाबारे जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषकुमार भट्टराईले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

उनका अनुसार विपद् व्यवस्थापन कार्यालय, मातहतका गुल्म तथा विभिन्न प्रहरी कार्यालयहरूबाट यो जनशक्ति परिचालित गरिएको हो ।

एसएसपी भट्टराईले भने, ‘हिजो मात्रै पनि विपद् व्यवस्थापन कार्यालयहरू, मातहतका गुल्महरू र प्रहरी कार्यालयहरूबाट २० हजार ४ सय ८५ जना जनशक्ति परिचालित थिए । अहिले पनि कोशी प्रदेशसहित पूर्वका क्षेत्रमा जोखिम कायमै भएकाले संयुक्त रूपमा परिचालन भइरहेको छ ।’

उनका अनुसार काठमाडौंमा मात्रै १ सय ३० जना प्रहरीलाई परिचालन गरिएको छ । ती प्रहरीहरू १५–१५ जनाको टोलीमा विभाजन भई र्‍याफ्टिङ बोटहरुसहित जोखिमयुक्त क्षेत्रका उद्धार र राहत कार्यमा खटिएका छन् ।

भट्टराईले थप जानकारी दिँदै भने, ‘जल तथा मौसम विज्ञान विभागले पहिल्यै भारी वर्षाको पूर्वानुमान गरेको थियो । त्यसकै तयारी स्वरूप हामीले पहिला नै पूर्व तयारी गरेका थियौँ । अहिले पनि सबै प्रदेशमा हाम्रो टोली स्ट्यान्डबाइ अवस्थामा छ ।’

प्रहरीका अनुसार सातै प्रदेशका प्रदेश प्रहरी गुल्महरूमा करिब १ सय २५-१ सय २५ जना जनशक्ति तयारी अवस्थामा राखिएको छ । मौसम प्रतिकूल हुँदा ती टोलीहरू तत्काल परिचालन हुने व्यवस्था गरिएको छ ।

भट्टराईले इलाममा गएको पहिरोमा पुरिएका र बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य पनि निरन्तर जारी रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?