नेपालबाट बाहिरियो वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली

लोकपथ
2.3k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जनाएको छ । विभागले आज आइतबार दिउँसो २ बजे सूचना जारी गरी मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जनाएको हो ।

विभागकी प्रवक्ता विभूति पोखरेलको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ । तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अतिभारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अतिभारी वर्षा मापन भएको छ । उल्लेखित अवधिभरको २४ घण्टे (२०८२/०६/१८ गते बिहान ०४ः३० बजेदेखि २०८२/०६/१९ गते बिहान ०४ः३० बजे) अधिकतम वर्षा महेशपुर, रौतहटमा ३५८ मिलिमिटर मापन भएको छ ।’

यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘असोज १९ गते बिहान ०८ः४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालितः ७९ र स्वचालितः २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रहरूमा वर्षा भएको छ । जसमध्ये १०५ वटा केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी, ६८ वटा केन्द्रहरूमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी र ५ वटा केन्द्रहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टी–स्टेट केन्द्र ( ३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र (३२८.६ मिलिमिटर), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८.० मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) रहेका छन् ।’

विज्ञप्तिमा अविरल वर्षाका कारण मिति २०८२ असोज १८ अपराह्नबाट उल्लेखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?