इलाम । इलाम जिल्लाको मानेभञ्ज्याङ र माइजोलमाई गाउँपालिका–स्थित ट्याङ क्षेत्रमा पहिरो गएर घर पुरिएको छ । देउमाई र इलाम नगरपालिकाका विभिन्न ठाउँमा पनि ठूला पहिरो खसेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार कठिन भूगोल र अविरल वर्षाका कारण पहिरो प्रभावित क्षेत्रसम्म प्रहरी टोली पुग्न र क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको छ ।
पहिरोले यातायात पूर्वाधारमा गम्भीर असर पारेको इलाम प्रहरीले जनाएको छ । सडकका धेरै भाग पहिरोले अवरुद्ध बनाएको र मुख्य सडकसमेत बन्द भएको बताइएको छ ।
विशेषगरी राजदुवाली क्षेत्रमा ठूलो पहिरो गएपछि इलामको आवागमनमा पूर्णरूपमा अवरोध आएको छ । सो क्षेत्र माईखोलामाथि पर्ने भएकाले नदीले कटान समेत गरेपछि सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ ।
प्रहरी र स्थानीय बासिन्दाहरू उद्धार र सडक खुलाउने प्रयासमा जुटेका छन् । प्रभावित क्षेत्रमा थप क्षतिको विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया