कोसी प्रदेशतर्फ बढ्यो जलवाष्पयुक्त मौसम, झापा र इलाममा अति भारी वर्षा

लोकपथ
1.6k
Shares

काठमाडौं । बिहार हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त मौसम कोसी प्रदेशतर्फ अगाडि बढेको छ । अहिले कोसी प्रदेशका अधिकांश जिल्ला र मधेसका केही जिल्लामा अति भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यति बेला कोसी प्रदेशको झापा, इलाम, मोरङ, तेह्रथुम र पाँचथर जिल्लामा अति भारी वर्षा भइरहेको छ ।

त्यसै गरी कोसी प्रदेशका ताप्लेजुङ, संखुवासभा, धनकुटा र भोजपुरमा पनि धेरै भारी वर्षा भइरहेको छ ।

कोसी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

यता मधेस प्रदेशको सुनसरीमा पनि धेरै भारी वर्षा भइरहेको छ । मधेस प्रदेशकै सप्तरीमा पनि मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा इलाममा अत्यधिक पानी परेको छ । इलामका ४ स्थानमा गरिएको मापनमा सबैभन्दा बढी सूर्योदय गाउँपालिकामा रहेको हिमाली गाउँ भन्ने स्थानमा सबैभन्दा बढी ३३५ दशमलव ४ मिलिमिटर पानी मापन गरिएको छ । सूर्योदय गाउँपालिकामै पर्ने कन्याम चिया बगानमा गरिएको मापनमा पनि पछिल्लो २४ घण्टामा २७९ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ ।

हिमाली गाउँमा पछिल्लो १२ घण्टामा मात्रै ३२० दशमलव २ मिलिमिटर पानी मापन गरिएको छ, जुन अति भारी वर्षाको मापन हो । कन्याममा पछिल्लो १२ घण्टामा २६५ दशमलव ४ मिलिमिटर पानी मापन गरिएको छ ।

त्यसै गरी इलामकै इलाम चिया बगानमा गरिएको पछिल्लो २४ घण्टाको मापनमा त्यहाँ २९० दशमलव ६ मिलिमिटर पानी परेको छ भने माई पोखरीमा १८२ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

इलामपछि झापामा पनि अति भारी वर्षा भएको छ । झापाका ६ स्थानमा गरिएको मापनमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बाहुन डाँगीमा २४६ दशमलव ४ मिलिमिटर पानी परेको छ । त्यहाँ विगत १२ घण्टामा मात्रै २३५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

त्यसै गरी विगत २४ घण्टाको तथ्यांक हेर्दा झापाकै कन्काईमा १८६ दशमलव ८ मिलिमिटर, दमकमा १७५ दशमलव ६ मिलिमिटर, अनारमनीमा १७२ दशमलव ४ मिलिमिटर, चन्द्रगढी विमानस्थलमा १४८ दशमलव ६ मिलिमिटर र केचनाकलनमा १०१ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

त्यसै गरी कोसी प्रदेशकै मोरङ जिल्लामा पनि अति भारी वर्षा भइरहेको छ । मोरङको हरैंचामा विगत २४ घण्टामा २४४ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यता पाँचथरको फिदिममा विगत २४ घण्टामा १३० दशमलव २ मिलिमिटर, फालेलुङमा १२२ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

धनकुटामा पनि विगत २४ घण्टामा अति धेरै भारी वर्षा भएको छ ।

धनकुटाको मुलघाटमा विगत २४ घण्टामा २०० दशमलव ८ मिलिमिटर, धनकुटा बजारमा १५५ दशमलव २ मिलिमिटर र पाख्रिवासमा १४७ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यता कोसी प्रदेशकै सुनसरीमा पनि अति भारी वर्षा मापन गरिएको छ । सुनसरीको चतरामा विगत २४ घण्टामा २१४ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मधेस प्रदेशको सप्तरीमा पति अति भारी वर्षा भएको छ । सप्तरीको बरमझियामा विगत २४ घण्टामा १८५ दशमलव ४ मिलिमिटर र कल्याणपुरमा १४९ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसअघि मधेस प्रदेशका सबै जसो जिल्ला र बागमती प्रदेशका केही जिल्लामा भारीदेखि अति भारी वर्षा भएको थियो ।

काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा सबैभन्दा बढी १८१ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मकवानपुरको चिसापानी गढीमा १९२ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ भने मकवानपुर गढीमा २०६ दशमलव ४ मिलिमिटर पानी मापन गरिएको छ ।

चितवनमा विगत २४ घण्टामा ८० दशमलव २ मिलिमिटर वर्षा मापन भएको त्यसै गरी सिन्धुलीको हरिहरपुर गढीमा विगत २४ घण्टामा २९१ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

के हो भारी वर्षा ? वर्षाको मापन कसरी गरिन्छ ?
कुन क्षेत्रमा कति पानी पर्‍यो भनेर मापन गर्ने विधि नै वर्षाको मापन गर्ने विधि हो । वर्षाको मापन गर्दा मिलिमिटरमा गर्ने गरिन्छ । एक मिलिमिटर वर्षा भनेको एक वर्ग मिटर क्षेत्रमा एक लिटर पानी पर्नु हो ।

प्रति २४ घण्टाको आधारमा मापन गर्दा :
हल्का वर्षा : १० मिलिमिटर भन्दा कम
मध्यम वर्षा : १० देखि ५० मिलिमिटर
भारी वर्षा : ५० देखि १०० मिलिमिटर
धेरै भारी वर्षा : १०० देखि २०० मिलिमिटर
अति भारी वर्षा : २०० मिलिमिटर भन्दा बढी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?