देशका १२ स्थानमा अति भारी वर्षा, मधेस प्रदेश बढी जोखिममा

लोकपथ
1k
Shares

काठमाडौं । मधेस प्रदेश अन्तर्गतका ४ जिल्लामा अति भारी वर्षा भएको छ । अति भारी वर्षाका कारण मधेस प्रदेशका ४ जिल्ला जोखिममा परेका छन् ।

जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार रौतहटको महेशपुरमा सबैभन्दा धेरै पानी परेको छ । महेशपुरमा विगत २४ घण्टामा २८४ मिलिमिटर पानी परेको छ भने विगत ३ घण्टामा मात्रै १६० मिलिमिटर पानी मापन गरिएको छ । यो अति भारी वर्षाको मापन हो ।

रौतहटकै गौरमा पनि विगत २४ घण्टाको अवधिमा २५८ दशमलव ८ मिलिमिटर पानी परेको छ । यो पनि अति भारी वर्षा हो भने रौतहटको गरुडामा समेत २१९ दशमलव ८ मिलिमिटर पानी मापन गरिएको छ ।

यता पर्साको मुडलीमा पनि अति भारी वर्षा भइरहेको छ । मुडलीमा विगत २४ घण्टामा २३१ दशमलव ८ मिलिमिटर पानी परेको छ भने विगत ३ घण्टामा मात्रै ११८ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

त्यसै गरी पर्साकै वीरगन्जमा २२६ दशमलव ४ मिलिमिटर र टाँडीमा १७१ दशमलव २ मिलिमिटर पानी परेको छ । वीरगन्जमा विगत ३ घण्टामा मात्रै ९५ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

यता बाराको कलैयामा पनि विगत २४ घण्टामा २२० दशमलव ६ मिलिमिटर पानी परेको छ, जुन अति भारी वर्षाको मापन हो । कलैयामा विगत ३ घण्टामा मात्रै ८७ दशमलव ४ मिलिमिटर पानीको मापन गरिएको छ ।

बाराकै परवानीपुरमा २४ घण्टाको अवधिमा १७३ दशमलव ६ मिलिमिटर पानी मापन गरिएको छ । त्यसै गरी बाराकै सिमरामा १५६ दशमलव ४ मिलिमिटर र निजगढमा १६२ मिलिमिटर पानी मापन गरिएको छ । बाराकै रत्नपुरीमा पनि विगत २४ घण्टामा ११२ दशमलव ६ मिलिमिटर पानी परेको छ । यो पनि धेरै भारी वर्षा हो ।

त्यसै गरी सर्लाहीमा विगत २४ घण्टामा १३६ दशमलव २ मिलिमिटर पानी मापन गरिएको छ, जुन धेरै भारी वर्षा हो ।

सरकारले मधेस प्रदेशका जिल्लाहरूलाई रेड जोनमा राखेर बाढी र डुबानको जोखिम रहेको भन्दै रेड अलर्टमा राखेको छ ।

के हो भारी वर्षा ? वर्षाको मापन कसरी गरिन्छ ?

कुन क्षेत्रमा कति पानी पर्‍यो भनेर मापन गर्ने विधि नै वर्षाको मापन गर्ने विधि हो । वर्षाको मापन गर्दा मिलिमिटरमा गर्ने गरिन्छ । एक मिलिमिटर वर्षा भनेको एक वर्ग मिटर क्षेत्रमा एक लिटर पानी पर्नु हो ।

प्रति २४ घण्टाको आधारमा मापन गर्दा :
हल्का वर्षा : १० मिलिमिटर भन्दा कम
मध्यम वर्षा : १० देखि ५० मिलिमिटर
भारी वर्षा : ५० देखि १०० मिलिमिटर
धेरै भारी वर्षा : १०० देखि २०० मिलिमिटर
अति भारी वर्षा : २०० मिलिमिटर भन्दा बढी

(अपडेट समय : २०८२-०६-१८, १७:०)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?