काठमाडौं । सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख तथा लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ ।
सेवाग्राहीसँग घुस असुल्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक दुःख दिने गरेको उजुरी बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएको हो । उनीहरू दुवै जनालाई मन्त्रालयमा तानिएको छ । उनीहरूमाथि राजश्वसमेत हिनामिना गरेको आरोप छ ।
इटहरी सवारी परीक्षण कार्यालयले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई बाटो इजाजत पत्र दिने, सवारीको स्तर कायम गर्ने, जाँचपास गर्ने र प्रदूषण परीक्षण गर्ने जिम्मेवारी वहन गर्दै आएको छ । तर, सेवाग्राहीबाट आएको उजुरी र प्रमाणका आधारमा उनीहरू अनियमिततामा संलग्न रहेको देखिएपछि मन्त्रालयले कारबाही अघि बढाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष सेवाग्राहीहरूले दुवै जनाविरुद्ध प्रत्यक्ष उजुरी दिएका थिए । त्यसपछि मन्त्री घिसिङले उनीहरूलाई जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गर्न निर्देशन दिएका छन् ।
यो विषयमा मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिजाल संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० कार्य दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
समितिलाई आरोपित कर्मचारी तथा सेवाग्राहीसँग बयान लिन, कार्यालयमा भएका निर्णयका कागजात अध्ययन–अनुसन्धान गर्न र आवश्यक कारबाहीका लागि सिफारिससहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया