काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन तीन महिनाभित्र खाली गरिदिन घरधनीले आग्रह गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकारसमेत नियुक्त भएका घरधनी भरतमणि देवकोटाले सो आग्रह गरेका हुन् । रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीस्थित चमतीमा रहेको छ ।
घरधनी देवकोटाले १० महिनाको भाडाबापतको रकम र पार्टीलाई सापट दिएको ठूलो रकम पनि नपाएको गुनासो गरेका छन् । उनले सुरक्षाका कारणले पनि घर छोड्न रास्वपालाई जानकारी गराएको बताए ।
देवकोटाका अनुसार मासिक तीन लाख ५० हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । उनका अनुसार, १० वर्षका लागि भएको सम्झौतामा प्रत्येक तीन वर्षमा ‘रिभ्यू’ गर्ने उल्लेख छ । तर, तीन वर्ष पनि नपुग्दै जोखिम बढेपछि आफूले तीन महिना पहिला सूचना दिनुपर्ने सम्झौताअनुसार खाली गरिदिन आग्रह गरेको उनले बताए ।
घरधनी देवकोटा अहिले अमेरिकामा छन् । उनलाई रास्वपाले अनुशासन आयोगका प्रमुख बनाएको थियो । तर उनी अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको छ ।
रास्वपाको कार्यालय स्थापनाकालमा बसुन्धरामा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया