काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा काठमाडौंका सबैजसो प्रहरी कार्यालयमा लुटपाट र आगजनी भयो । ती आगजनीमा प्रहरी कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, वाकीटकी, प्रहरीका पोसाक लगायत मात्रै होइन, हात हतियारको समेत लुटपाट भयो । प्रहरीको प्रारम्भिक तथ्यांक अनुसार करिब १ हजार ४ सय थान हातहतियार काठमाडौंबाटै लुटिएका छन् र त्यसमा साना हतियार समेत छन् ।
घटनाको भोलिपल्ट बाट नै प्रहरी र नेपाली सेनाले लुटिएका हात हतियार तत्काल बुझाउन सार्वजनिक अपिल नै गरे । ज–जसले हतियार ल्याएर बुझाए, सेना र प्रहरीले विवरण राखेर हतियार लिई उनीहरूलाई सहजरुपमा फर्कन दिए ।
तर के लुटपाट भएका सबै हतियार गोलीहरू फिर्ता भए त ? के लुटिएका सबै हतियारहरू बुझाइए त ?
दुई दिन अगाडि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई एउटा खबर आयो, काठमाडौंबाट लुटिएका दुई थान पेस्तोल र केही राउन्ड गोली कैलाली पुगेको छ ।
साना हतियार अर्थात् पेस्तोल र गोलीसमेत लुटेर कैलाली पुराइएको सूचना पाएपछि कार्यालयको टोली तत्कालै परिचालित भयो । कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीसँग समन्वय गर्यो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र शंकितहरु रहेको स्थान नजिकैको इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियासँग समन्वय गरेर प्रहरी टोली शंकितको घरमा पुग्यो । त्यहाँ रहेका एक युवकलाई नियन्त्रणमा लिने बित्तिकै उनले हतियार कहाँ छ र यसमा को कसको संलग्नता छ भनेर खुलाइदिए ।
प्रहरी टोलीले कैलालीकै १९ वर्षीय समीर खड्का, वर्ष १९ कै आभाष चन्द, वर्ष २१ का रोहित भन्ने विवेक राउत र २२ वर्षीय हिमाल आचार्य र निवेश सापकोटालाई पक्राउ गरेको छ ।
प्रहरीले कैलालीबाट ४ जना र काठमाडौंको मैतीदेवीबाट एक जनालाई पक्राउ गरी काठमाडौं ल्याएको छ । उनीहरूको साथमा रहेको दुई थान पेस्तोल र त्यसमा लाग्ने २८ राउन्ड गोलीसमेत बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरूले ती हतियारहरू काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटेर लगेको बताएका छन् ।
पक्राउ परेकाहरूको प्रारम्भिक बयान अनुसार उनीहरूले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ५ थान पेस्तोल र त्यसमा लाग्ने करिब ५ सय राउन्ड गोली लुटेका थिए । ती हतियार र गोलीमध्ये सशस्त्र प्रहरीको सिनामंगलमा रहेको टोलीलाई ३ थान पेस्तोल र त्यसमा लाग्ने ४७० राउन्ड गोली बुझाएर बाँकी हतियार र गोली उनीहरूले नै लगेका थिए ।
आफूहरूले लुटेर लगेको कतै भिडियोमा देखिन सक्ने भन्दै उनीहरूले केही हतियार र गोली बुझाएपछि अरूलाई थाहा नहुने भन्दै ती हतियार लगेको हुनसक्ने बुझिएको छ ।
तर हतियार नै लिएर गएको सूचना पाएपछि प्रहरीले तत्कालै शंकितलाई पक्राउ गरी हतियारसमेत नियन्त्रणमा लिएको छ । उनीहरूमाथि हातहतियार खरखजना र लुटपाटमा मुद्दा चलाउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया