नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक : विद्या भण्डारी

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बताएकी छन् ।

उनले शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिएकी छन् ।

सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउनुपर्ने बताएकी हुन् ।

उनले मुलुकको विकास र समृद्धिका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नपुग्ने उल्लेख गरिन् । विकासमा हरेक नागरिक र समुदायको पनि उत्तिकै भूमिका हुने उनको भनाइ छ ।

नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्त्वपूर्ण आधार भएको बताउँदै उनले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने धारणा राखिन् ।

भण्डारीले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्न आवश्यक रहेको बताइन् । नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्नुपर्ने उनको भनाइ छ ।

उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन् ।

शिक्षा प्रणालीमा सुधारसँगै पठन संस्कृतिको विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै भण्डारीले नागरिकलाई जिम्मेवार र सचेत बनाउने शिक्षा प्रणाली निर्माण गर्न आवश्यक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?