सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

लोकपथ
147
Shares

बागमती । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित अन्य कार्यालयमा भएको आगजनीले ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले नयाँ भवनबाट सञ्चालन गर्ने निर्णय गरेको हो । 

मन्त्रालयका सूचना अधिकारी वासुदेव दाहालले भने, ‘आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त भएको छ । त्यसैले मन्त्रालय सञ्चालनका लागि तत्काल सहरी विकासको नयाँ भवन उपयोग गर्ने तयारीमा छौँ । कार्यालय व्यवस्थापनका लागि सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा टोली परिचालन गरिएको छ र एक–दुई दिनमै सेवा प्रवाह सुरु गरिनेछ ।’

आन्दोलनकारीले नवनिर्मित भवनमा समेत तोडफोड गरेका कारण मर्मत गरी कार्यालय व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ। आगजनीबाट जोगिएका फर्निचर तथा कागजात सार्ने र नयाँ समान ल्याएर कर्मचारीका लागि आवश्यक कक्ष व्यवस्थापन गरिँदैछ ।

हाल हेटौँडा उपमहानगरपालिका-१ चौकीटोल ओरालोस्थित एउटै भवनमा सञ्चालन भइरहेको भौतिक मन्त्रालयसहित चार वटा मन्त्रालय प्रदर्शनका क्रममा जलेको थियो ।

मन्त्रालयका अनुसार आगजनीबाट साढे पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रदर्शनकारीले मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय हेटौँडा, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानीमा रहेको पूर्वाधार विकास विशेष आयोजना कार्यालय हेटौँडामा समेत क्षति पुर्‍याएका छन् ।

त्यस क्रममा मन्त्रालयका पाँच वटा चार पाङ्ग्रे सवारीसाधन र ३५ वटा मोटरसाइकल गरी कुल ४० वटा सवारीसाधन जलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?