सरकारले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियान चलाउने

लोकपथ
427
Shares
फाइल तस्बिर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

मन्त्री घिसिङको सचिवालयका अनुसार जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले त्यसलाई छिट्टै सफा गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । सकारात्मक सन्देश दिन क्षति पुगेका सवारीसाधन तुरुन्त हटाएर व्यवस्थापन गरौँ ।’

उनले सामान्य क्षति भएका भवनलाई रङरोगन गरेर सुन्दर बनाउन, मन्त्रालय तथा कार्यालय परिसरमा क्षतिको मूल्याङ्कन तत्काल गर्न र नोक्सान भएका सवारीसाधन हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट पारे ।

यसैबिच सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?