सेवाशुश्रूषा मानवीय सेवा पनि हो : परराष्ट्रमन्त्री राणा

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सेवाशुश्रूषा केवल पेसा वा जागिर नभई मानवीय सेवाको रूपमा पनि बुझिनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बाल्यकालदेखि वृद्धावस्थासम्मका सेवाशुश्रूषासम्बन्धी गतिविधिलाई समाज, समुदाय र राष्ट्रस्तरमा पर्याप्त मूल्याङ्कन नभएको बताइन् । 

उनले भनिन्, ‘यो क्षेत्रमा योगदान कृषिसँग हाराहारीको छ, तर यसको उचित पहिचान हुन सकेको छैन । प्रायः महिलाले यसको असमान भार बहन गरिरहेका छन्, जसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने उनीहरूको सहभागिता अवरुद्ध गरेको छ ।’

उनका अनुसार नेपालले सेवाशुश्रूषाको महत्त्व पहिचान गरिसकेको छ र १६औँ योजनाले पहिलो पटक यसलाई विकास दृष्टिकोणको केन्द्रमा राखेको छ । 

उनले सेवाशुश्रूषामा हुने खर्चलाई प्रतिफल दिने लगानीका रूपमा हेरिनुपर्ने बताउँदै, स्वास्थ्य र शिक्षा क्षेत्रमा यसको कमी पुरा गर्न सके लाखौँ रोजगार सिर्जना हुने र त्यसको कम्तीमा ६० प्रतिशत अवसर महिलाले पाउने अध्ययनहरूले देखाएको जानकारी दिइन् ।

मन्त्री राणाले दशकौँदेखि सुरक्षित मातृत्व र लैङ्गिक समानताका लागि सुदूरपश्चिमसहित देशभर निरन्तर प्रयास गरिएको उल्लेख गर्दै त्यसको परिणामस्वरूप मातृ तथा शिशु मृत्युदर घट्न थालेको र नेपाल दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अघि बढेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?