काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित जेब्रा क्रसिङमै माइक्रोबसले पैदलयात्रुलाई ठक्कर दिएको छ । बुधबार बिहानको यो घटनामा दुई नाबालक घाइते भएका छन् ।
प्रहरीका अनुसार, पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको बा.प्र.०१–००२ ज ८३२२ नम्बरको माइक्रोले बाटो काट्दै गरेका पैदलयात्रुलाई ठक्कर दिएको हो ।
ठक्करबाट धनकुटाको चिन्ताङ– १ घर भएकी ५ वर्षीया बालिका आशिका राई र ९ वर्षीय विवेक तामाङ घाइते भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीका अनुसार राईको मोडल अस्पताल र तामाङको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । तामाङको टाउकोमा गम्भीर चोट लागेको छ । राई भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया