काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न आरोपितहरूमाथि दायर मुद्दाको अन्तिम सुनुवाइ आज बुधबारदेखि सुरु हुँदैछ । साक्षी बयान र बकपत्रसम्बन्धी प्रक्रिया सकिएपछि अदालतले साप्ताहिक पेशी सूचीमा राख्दै आज बुधबारदेखि अन्तिम बहस सुरु गर्न लागेको हो ।
जिल्ला अदालत काठमाडौंमा दुई वर्षदेखि विचाराधीन यो मुद्दा अब अन्तिम टुंगो लाग्ने चरणमा पुगेको हो ।
यो मुद्दामा एमाले नेता एवं प्रतिनिधिसभाका निलम्बित सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका ३१ जना जोडिएका छन् । एमाले नेता रायमाझी दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने कांग्रेस नेता बालकृष्ण खाँण धरौटीमा छुटेका छन् ।
यी सबैमाथि अब अदालतमा अन्तिम बहस सुरु हुने भएकाले लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छिनोफानो हुने अपेक्षा गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० साल जेठ १० गते ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसयता यो प्रकरणमा पूरक मुद्दासहित ३१ जना प्रतिवादी बनेका छन् ।
यो मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएकोमा केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटेका थिए भने पूर्वमन्त्री रायमाझीसहित केही अझै थुनामै छन् ।
यो मुद्दामा २०८२ सालको वैशाखयता मात्रै १० पटक साप्ताहिक र १६ पटक पूरक पेशी चढिसकेको छ ।
यो मुद्दामा रायमाझी र खाँडका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका उच्चस्तरीय व्यक्तिहरू प्रतिवादी बनेका छन् ।
त्यस्तै, शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाल, दुलालकी पत्नी दीपा हुमागाईं, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जन, सानु भण्डारी, सागर राई, आशिष र सुनिल बुढाथोकी, रामशरण केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, राजेश अर्याल, विनीता सावदेन लिम्बु, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया