काठमाडौं । युनिटी लाइफ इन्टरनेसनलमा ठगिएकाहरूलाई एक महिनाभित्र ठगी भएको रकमसहित दाबी गर्न सूचना जारी गरिएको छ । ललितपुर जिल्ला अदालतले मंगलबार एक सूचना जारी गर्दै एक महिनाभित्र दाबी पेस गर्न भनेको हो ।
ललितपुर जिल्ला अदालतको तहसिल शाखाले मंगलबार एक सूचना जारी गर्दै आफूले जम्मा गरेको रकमको दाबी प्रमाणसहित पेस गर्न एक महिनाको सूचना दिइएको हो । एक महिनाभित्र ललितपुर जिल्ला अदालतको तहसिल शाखा वा देशको जुनसुकै जिल्ला अदालतको तहसिल शाखामार्फत जम्मा गरेको रकमको दाबी गर्न सकिने उल्लेख गरिएको छ ।
एक महिनाको अवधिभित्र पनि रकम दाबी नगरे फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था अनुसार हुने भन्दै उक्त रकम सरकारकै हुने ब्यहोराको सूचना जारी गरिएको हो ।

२०८२ भदौ १७ गते प्रथम पटक प्रकाशित भएको सूचनामा दिनेशकुमार भण्डारी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी काशीराम गुरुङ समेत भएको ठगी मुद्दामा सर्वोच्च अदालतको मिति २०८२ वैशाख २ गतेको फैसला अनुसार युनिटी लाइफ इन्टरनेसनल लिमिटेड, ललितपुरका नाममा रकम जम्मा गर्ने सबै सरोकारवालाहरूलाई रकम दाबीका लागि सूचना जारी गरिएको हो । म्याद सकिएपछि निवेदन प्राप्त भएमा दर्ता नहुने समेत सूचनामा उल्लेख छ ।
युनिटी लाइफ इन्टरनेसनलको ठगी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि पीडितहरूलाई न्याय दिलाउने प्रक्रियाका रूपमा यो सूचना जारी भएको हो ।
युनिटी लाइफ इन्टरनेसनलको ठगीसम्बन्धी यो मुद्दा सर्वोच्च अदालतमा करिब ७ वर्ष अगाडि आइपुगेको थियो । काशीराम गुरुङ लगायतले युनिटी लाइफ इन्टरनेसनल लिमिटेडको नाममा सामान्य बिमा व्यवसायको आड लिई आकर्षक प्रतिफलको आशा देखाएर ठुलो रकम ठगी गरेका थिए । सोही मुद्दामा गुरुङ लगायतका व्यक्तिहरू जेलमा समेत बसिसकेका छन् ।
सर्वोच्च अदालत आइपुगेको यो मुद्दामा अदालतले २०८२ वैशाख २ गते अन्तिम फैसला सुनाउँदै पीडितलाई रकम फिर्ता गर्नुपर्ने र युनिटीको सम्पत्ति बेचेर फिर्ता गर्ने भनेको थियो ।
युनिटी लाइफ इन्टरनेसनलले सुनियोजित ढंगले ठगीको योजना बनाएको थियो । कम्पनीले आकर्षक विज्ञापन मार्फत विभिन्न योजनाहरू सार्वजनिक गरेको थियो । कम्पनीको निशानामा वृद्ध वृद्धा, गृहिणी र साना व्यवसायीहरू परेका थिए । कम्पनीले आफ्नो योजनाहरूमा मासिक रूपमा रकम जम्मा गर्न लगाएर वार्षिक रूपमा ३० देखि ४० प्रतिशतसम्मको उच्च प्रतिफल दिने भन्दै रकम उठाएको थियो ।
कम्पनीले केही समयका लागि प्रतिफल दिएको जस्तो पनि गरेको थियो । तर उक्त प्रतिफल व्यापारको नाफाबाट नभई सदस्यहरूबाटै उठाएको पैसाबाट दिइएको थियो, जसको उद्देश्य अन्यलाई पनि सदस्य बन्न प्रेरित गर्ने र सदस्यको सङ्ख्या बढाउनु रहेको थियो । तर पछि युनिटीले प्रतिफल दिन बन्द गरेको थियो भने रकमसमेत फिर्ता गर्न छाडेको थियो । युनिटीले युनिटी अस्पतालका नाममा आफ्नै अस्पताल खोलेको थियो भने हवाईजहाजसम्म ल्याएर चलाउने सपना बाँडेको थियो । पछि ठगी गरिएको रकमसहित सञ्चालकहरू फरार भएपछि मात्रै पीडितहरूले आफू ठगिएको थाहा पाएका थिए ।
अरूलाई समेत सदस्य बनाएर कमाउन सकिने प्रलोभन समेत दिएको यो ठगी प्रकरणमा पिरामिड शैलीको ठगी गरिएको थियो । यो ठगीमा ३ लाख ६८ हजारभन्दा बढी व्यक्तिहरू पीडित भएका थिए जसमा न्यूनतम १० हजार रुपैयाँबाट रकम उठाइएको थियो र यो ठगी २०६२।६३ बाट सुरु भई २ वर्षसम्म चलेको थियो । यामे ठगी योजनामा पीडित भएकाहरूले आफ्नो जीवनभरको कमाई, पेन्सनको रकम र कतिपयले ऋण लिएर समेत यहाँ लगानी गरेका थिए ।
पीडितहरूले रकम फिर्ताका लागि आफूबाट ठगी भएको रकम र त्यसका प्रमाणहरू पेस गर्नुपर्ने छ । जसमा नागरिकता वा अन्य त्यस्तै कागजात, युनिटी लाइफमा रकम जम्मा गरेको रसिद वा कागजात, बैंकबाटै लेनदेन गरेको भए त्यसको प्रमाण आदि पेस गर्नुपर्नेछ । यसअघि प्रहरी प्रतिवेदनमा उल्लेख भएका पीडितहरुको रकम र विवरण समेत प्रमाणका रूपमा प्रयोग हुन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया