एमाले कार्यालयमा शिक्षकहरुको धर्ना, विधेयक सच्याउन माग

लोकपथ
259
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले प्रतिनिधिसभामा पेस गरिएको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । 

महासंघले बिहीबार बिहान ११ बजेदेखि धर्ना दिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

यसअघि बुधबार महासंघले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो भने शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको छ ।

महासंघले विधेयकमा अस्थायी शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुने व्यवस्था माग गर्दै आएको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, विधेयकमा स्थायी शिक्षकको आवधिक बढुवा, अस्थायी अवधिको गणना, म्याद सकिएका अध्यापन अनुमति पत्रको म्याद थप, विभागीय कारबाहीको सहमति अनुसार व्यवस्था, विद्यालय कर्मचारीको पद र वेतन, बाल कक्षा शिक्षकको सेवा सुविधा, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणाली लगायतका विषयसमेत समावेश नभएको महासंघले जनाएको छ ।

महासंघले शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा आफ्नो प्रतिनिधित्व नभएकोमा पनि असन्तुष्टि व्यक्त गरेको छ । महासंघले प्रतिनिधि सभामा पेस गर्न सबै बुँदा सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?